साउन ३२, २०७८
चौतारा : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भ्रेमाथाङमा गएको पहिरो रोक्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा शेर्पाले मेलम्ची माथि भ्रेमाथाङ क्षेत्रको गेगरानलाई बग्नबाट रोक्न आग्रह गरे।
अध्यक्ष शेर्पाले भने, ‘हामी तलतिर बस्तिमा जाली लगाउने र बाटो बनाउने काम गरौँला। फेरि अर्को साल पुरिदिन्छ। माथि रोकिदिनुहोस्। मेलम्चीबाट चनौटे हुदैँ खानेपानी आयोजना पुग्ने ६ वटा पुल भेलबाढीले बगाएको छ। मेलम्चीको बाटो हुदैँ मुहान पुग्ने सम्भावना अहिलेलाई छैन, सरकार नै लागेर काम गर्ने हो दसैँमा मेलम्चीको पानी अस्थायी रुपमा ल्याउन सक्छ।’
उनले भ्रेमाथाङ क्षेत्रको भेलबाढी रोकथामबारे तत्काल अध्ययन गर्न माग गरे।
‘काठमाडौंलाई खानेपानी खान पाउँदैन भन्ने होला। हामी पानी पठाउँछौ। अहिले हेलम्बुबासी अफ्ठ्यारो स्थित छ। हेलम्बुलाई विपद् पर्दा काठमाडौंले सहयोग गर्नुपर्छ’ उनको भनाइ छ।
दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने बताएका छन्। अध्यक्ष शेर्पाले भ्रेमाथाङको चउरभन्दा तल नदी कटानपछि उत्पन्न भएका थुप्रै बग्ने पहिरो रहेकाले त्यसलाई रोक्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस