साउन २५, २०७८
चौतारा : नेकपा एमाले विवादको असर बलेफी गाउँपालिकामा छरप्रस्ट भएको छ।
एमाले संस्थापन पक्षमा लागेका वडाध्यक्षलाई हटाउँदै गाउँपालिकाको सामाजिक विकास समितिमा माधव पक्षीय वडाध्यक्षलाई ल्याइएको छ।
बलेफी-७ का वडाध्यक्ष कार्केल लामालाई सामाजिक विकास समितिको संयोजकबाट हटाउँदै वडा नम्बर ५ का वडाध्यक्ष विकास श्रेष्ठलाई बनाइएको छ। न्यायिक समितिको सदस्यबाट पनि लामालाई हटाउँदै वडा नम्बर ३ का अध्यक्ष वीरमान तामाङलाई ल्याइएको छ।
शिक्षा नीतिविपरीत गाउँ कार्यपालिकाको बैठकबाट मनोमानी ढंगले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोकेको छ। गाउँपालिका अध्यक्ष केदार क्षत्री स्वयं खाँडीचौरस्थित बालशिक्षा माविका अध्यक्ष बनेका छन्।
गाउँपालिका उपाध्यक्ष कमला कायस्थलाई जलवीरेस्थित आनन्द माविको अध्यक्ष तोकिएको छ।
आइतबार कार्यपालिका बैठक भनेर आफूहरुलाई बोलाइए पनि आफूहरु पुग्नुअघि नै बैठक सकिएको भन्दै फर्काइएको वडाध्यक्ष कार्केल लामा र चरिबहादुर तामाङले बताए।
‘हामी पुग्दा अध्यक्षले बैठक सकियो भन्नुभो, धन्यवाद भनेर फर्कियौं’, बलेफी८ का वडाध्यक्ष चरिबहादुर तामाङले भने।
प्रतिक्रिया दिनुहोस