असार २८, २०७८
काठमाडौं : प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जीत भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिए ।
उनले नेपालको संविधान प्रस्ट रहेको भन्दै त्यही प्रस्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरूलाई पनि दिशानिर्देश गरेको उनले उल्लेख गरे ।
सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए । उनले भने, ‘आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जीत भएको छ । लोकतन्त्रको जीत भएको छ । संविधानलाई रक्षा भएको छ र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अवसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश लगायत सम्पूर्ण संवैधानिक इजलाशका न्यायाधीशज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसका साथसाथै यो संसद पुनःस्थापनाका लागि र यो फैसला गराउनका लागि भूमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहन्छु । यो बहुआयामिक महत्त्वको छ । हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरूलाई हामीले समेटेका छौं । यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरू पनि हामीले राखेका छौं । त्यस अर्थमा हाम्रो संविधान जति प्रस्ट छ त्यही प्रस्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ र यसले बहुआयामिक हिसाबले संसद विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अंगहरूलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको छ । धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरीय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।’
सभामुख सापकोटाले नयाँ अध्यायको शुरूआत भएको भन्दै राजनीतिक दलहरूलाई विगतको समीक्षा गर्दै संसदलाई प्रभावकारी रूपले सञ्चालन गर्नका लागि व्यवस्थित र शृंखलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरे । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए ।
‘हामी सबै बढी चिन्तित नै थियौं । किनभने प्रतिनिधिसभा विघटन मात्रै भएको होइन, यसको साथसाथै यसले व्यवस्थामाथि नै अलिकति धक्का दिन लागिरहेको थियो र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो । यो फैसलाले यी सबै खतराहरूको अन्त्य गरेको छ र नयाँ अध्याय शुरूआत गरेको छ । यस अर्थमा म फेरि पनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाई दिन चाहन्छु । म राजनीतिक पार्टीहरूलाई पनि ऐतिहासिक अवसरमा के अपिल गर्न चाहन्छु भने हरेक हिसाबले नयाँ अध्यायको शुरूआत भएको छ । विगतको जस्तै होइन, विगतमा राजनीतिक पार्टीहरूले नै विगतको गम्भीर समीक्षा गर्दै खासगरी पहिलोचोटी संसद पुनःस्थापना हुँदाखेरी संसदलाई धेरै प्रभावकारी बनाउन सकिएन । विभिन्न कारणहरू छ । त्यसमा मेरो भूमिका पनि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका साथै राजनीतिक पार्टीहरू भनेको त पावर हाउस पनि हुन् । यिनको भूमिका निर्णायक हुन्छ । त्यसकारण राजनीतिक पार्टीले व्यवस्थित र शृंखलावद्ध योजनाका साथ संसदमा बिजनेश दिने कुरादेखि लिएर जनताका आवाजहरूलाई चाहिँ राम्रोसित मुखरित गर्ने, खासगरी संघीय संसदलाई जिवन्त, जनमुखी, गतिशील, चलायमान बनाउने जुन प्रण गरेका छौं । त्यसलाई सफलिभुत बनाउनका लागि म प्रतिनिधि सभाको सभामुखको हैसियतले हाम्रो सचिवालय त त्यसमा लाग्ने नै छ । म के अपेक्षा गर्छु भने यो सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यो फैसला जति प्रस्टताको साथ आएको छ र त्यही स्पष्टताका साथ, त्यही जवाफदेहिताका साथ, त्यही पारदर्शी ढंगले पार्टीहरूले काम गर्नेछन् भन्ने मलाई लाग्दछ र मैले के ठानेको छु भने दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना, यसले गरेका ऐतिहासिक निर्णयका आधारमा मेरो पनि जिम्मेवारी थपिएको छ ।’
सभामुख सापकोटाले अब आफ्नो भूमिका र दायित्व पनि बढेको बताए । आफूले संसदको गरिमा बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस