असार २५, २०७८
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बरिष्ठ नेता माधवकुमार नेपालले गरेको शक्ति बाँडफाँडको प्रस्ताव अस्वीकार गरेका छन्। पार्टीको विवाद समाधानका लागि बुधबार भएको ओली र नेपालबीच भेटमा नेपालको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन्।
ओलीले नेपालको प्रस्ताव अस्वीकार गरेकै कारणले विवाद समाधान कार्यदलले एकताको बिन्दु पहिल्याउन सकेको छैन।
नेपाल निकट स्रोतले भन्यो, ‘ओलीले पार्टीमा एकलौटी चलाउन खोजेको भन्दै नेता नेपालले पार्टीमा दुवैको हैसियत बरावरी हुनुपर्ने प्रस्ताव राख्नुभएको थियो। तर, ओलीले नेपालको कुरालाई स्वीकार गर्नुभएन। त्यही कारणले पनि कार्यदलले एकताको बिन्दु भेट्ट मुस्किल परिरहेको छ।’
अहिलेकै परिस्थितीमा एकता गरेर गएमा ओलीले भोलिबाटै आफूखुसी निर्णय गर्न थाल्ने नेपाल पक्षको भनाइ छ।
‘हामी एकताको विपक्षमा होइनौँ। तर, दुवै नेताको हैसियता बराबरी हुनुपर्छ भन्ने हाम्रो अडान हो। उहाँहरुबीचको निर्णय गर्ने ठाउँमा बराबरी अधिकार भएपछि पार्टीमा समस्या आउन सक्दैन’ नेपाल निकट एक नेताले भने।
पार्टी एकता जोगाउन कार्यदलले निरन्तर पहल गरिरहेकोे भएपनि प्याकेजको सहमति बिना कुनै हालतमा एकताबद्ध हुन नसक्ने ती नेताको भनाइ छ।
‘उहाँको एकलौटी निर्णयले अहिलेसम्म नेकपादेखि एमालेमै यस्तो भाडभैलो मच्चिरहेको छ। अनि उहाँले भनेअनुसार हामी सहमति गरेर कसरी एकता हुन्छ’ ती नेताले थपे।
बटमलाइन नै भएकाले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि एक व्यक्ति एक पद लागू गरेर अघि बढ्नुको कुनै विकल्प नभएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्।
उनी भन्छिन्, ‘पाटीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि एक व्यक्ति एक पद कार्यान्वयन गर्न अपरिहार्य छ। तर, उहाँ कुनै पद छाड्नै तयार हुनुहुन्न।’
ओलीले पार्टी एकताको लागि हस्ताक्षर फिर्ता गर्नूपर्ने माग राख्नु नै गलत भएको नेतृ शाक्यको दाबी छ।
‘पार्टी एकताभित्रको विवाद समाधान गर्नू र हस्ताक्षरको कुरा कतै जोडिएको छैन। त्यो अडान उहाँहरुले राख्नु भनेकै एकताको प्रयास बिथोल्नु मात्रै हो’ उनले भनिन्। अदालतमा पुगेको बिषयलाई पार्टीमा जोड्न नहुने उनको मत छ।
तर, कार्यदलका नेताहरु हस्ताक्षरको बिषयलाई अदालतको निर्णयलाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्।
एक पद छाड्नुपर्ने अडान राखिरहेका नेता नेपालले पावर सेरिङको प्रस्तावलाई समेत अस्वीकार गरेपछि सन्तुष्ट छैनन्। पार्टीमा दुवै नेताको हस्ताक्षरबिनाको सहमति गरेर पछुताउनुको विकल्प नभएको नेपाल निकट नेताहरु बताउँछन्।
नेता नेपाल समूहले ओलीसँग पार्टीको तल्लो तहसम्म बराबरीको हिस्सेदारी समेत माग गरेका छन्।
पार्टीको विवाद समाधानका लागि गठिन कार्यदलको संस्था पन पक्षका संयोजक सुवास नेम्वाङ भने पार्टी एकता जोगाउन सबै सकारात्मक भएकाले बाहिरको हल्लाको पछि नलाग्न आग्रह गर्छन्।
तर, कार्यदलका नेपाल पक्षको सदस्य घनश्याम भूषालले भने कार्यदलले पछिल्लो १० दिनदेखि केही प्रगति गर्न नसकेका स्वीकार गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस