असार ७, २०८९
चाैतारा : सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।
रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।
बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुग्नु भएका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए ।
‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले भने, ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । उनले थपे ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’
उनले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिए।
प्रतिक्रिया दिनुहोस