२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सरकारले भन्यो : गाउँगाउँमा काेराेना फैलिसक्याे, लक्ष्यण भए परिक्षण गर्नू

  • २०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ २६, २०७८

    चाैतारा : सरकारले गाउँगाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा नियन्त्रणमा आइसकेको संक्रमण अहिले फेरि बढेको जनाएको हो। यससँगै देशभर पाँच सय भन्दाबढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ४२ पुगेको छ ।

    तीमध्ये पनि सबैभन्दा धेरै संक्रमित काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रुपन्देही, झापा, कैलाली, कास्की, काभ्रेपलाञ्चोक र चितवनमा रहेका छन् ।

    बुधबार मन्त्रालयमा आयोजित कोभिड- १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो १४ दिनमा गरिएको परीक्षणमा सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा पाइएको बताए।

    ‘पछिल्लो १४ दिनमा प्रदेश नम्बर एकमा पाँचथर,ओखलढुङा, तेह्रथुम, प्रदेश २ को सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्व, लुम्बिनी प्रदेशमा रोल्पामा, कर्णाली प्रदेशमा रुकुम पश्चिममा र सुदूरपश्चिम प्रदेशमा दार्चुलामा सक्रिय संक्रमितहरु बढेका छन्।’ उनले भने, ‘यो समूहमा हामीले हेर्दा गाउँगाउँमा कोरोना फैलिएको पुष्टि हुन्छ ।’   

    अहिले २१ देखि ५० वर्षसम्म उच्च संक्रमण देखिएको छ।  त्यसपछि ५१ देखि ६० वर्ष सम्मकालाई धेरै संक्रमण भएको पाइएको छ। सबैभन्दा धेरै संक्रमण भने कर्णाली प्रदेशमा रहेको र कर्णालीका गाउँगाउँमा संक्रमित फेला परेका सूचना पाएको प्रवक्ता पौडेलले बताए। 

    ‘कर्णाली प्रदेशमा जम्मा ३५३ जनाको परीक्षण भएकोमा १५७ जनामा संक्रमण पाइएको छ, यो भनेको ४४ दशमलब ५ प्रतिशत हो, यो उच्च हो ।’ प्रवक्ता डा. पौडेलले भने, ‘कर्णाली प्रदेशका गाउँगाउँमा लक्षण भएका बिरामी हुनुहुन्छ भन्ने तथ्यांक/सूचना छ, कृपया कसैलाई लक्षण छ भने समयमै परीक्षण गर्नुहुन अनुरोध पनि गर्दछौं ।’ 

    मन्त्रालयकाअनुसार देशभर दोस्रो धेरै कोरोनाको संक्रमण भएको प्रदेश सुदूरपश्चिम हो। जहाँ पछिल्लो २४ घण्टामा  ६१० जनाको परीक्षण गर्दा २२९ जनामा संक्रमण पाइएको छ।

    गण्डकी प्रदेशमा एक हजार २१ जनाको परीक्षण गर्दा ३ सय २ जनामा र प्रदेश १ मा एक हजार ७ सय ७९ जनाको परीक्षण गर्दा ६२३ जनामा संक्रमण पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस