२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोना संक्रमण नियन्त्रणमा सक्रिय बन्दै बागमती प्रदेश सरकार

  • २०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ १९, २०७८

    चाैतारा :  कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका कमजोर भएको भन्दै गुनासो आउन थालेपछि बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र नियन्त्रणमा सक्रियता देखाएको छ। 

    विभिन्न सामाजिक संघ संस्थाको तुलनामा प्रदेश सरकारको भूमिका न्यून देखिएको भन्दै प्रश्न उठ्न थालेपछि कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्रियता बढाएको हो।

    प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या हुँदासमेत प्रदेश सरकारले सक्रिय रुपमा भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकारको कामको विरोध भएको थियो। 

     प्रदेश सरकारले अहिले कोरोना परीक्षणका लागि आवश्यक पिसिआर ल्याब स्थापनादेखि संक्रमितको उपचारका लागि अक्सिजन प्लान्टसम्म स्थापना कार्यलाई तीव्रसाथ बढाएको छ।

    मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना संक्रमितको उपचार र रोकथामका लागि प्रदेश सरकारले गरिरहेको कामबारे जानकारी गराएका थिए।

    उनले प्रस्तुत गरेको प्रतिवेदनअनुसार प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र रोकथामका लागि करिब ६७ करोड ८९ लाख विनियोजन गरेर विभिन्न काम सुरु भएको छ। 

    मुख्यमन्त्री पौडेलका अनुसार प्रदेश सरकारले प्रदेशको विभिन्न अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न २६ करोड निकासा गरेको छ। सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पिसिआर ल्याब स्थापना तथा सञ्चालनका लागि २६ करोड रुपैयाँ निकासा गरेको हो।

    प्रदेशका ४ वटा अस्पताल र एउटा प्रयोगशालामा पिसिआर ल्याब रहेका र बाँकीमा स्थापना गर्नुपर्ने भएकाले दुई चरणमा स्थापना कार्य सुरु गरिएको उनले बताए।

    पौडेलले पहिलो चरणमा ४ वटा अस्पतालका लागि पिसिआर मेसिन खरिद प्रक्रिया सुरु गरिएको र बाँकीमा दोस्रो चरणमा खरिद गर्ने योजना रहेको सुनाए।अस्पतालहरूको मागअनुसार हालसम्म ४ करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरी अस्पतालहरूमा पठाइएको जानकारी दिए। त्यस्तैगरी अस्पतालको सुदृढीकरणका लागि प्रदेशको ५ वटा अस्पताललाई ५ करोड ५० लाख उपलब्ध गराएको उनको भनाइ छ। 

    प्रदेश सरकारले आइसोलेसन बेड स्थापना, पिसिआर मेसिन तथा टेष्ट किट खरिद तथा ल्याब उपकरण व्यवस्थापनका लागि २० करोड रुपैयाँ, सिभिल अस्पतालमा १ सय ५० कोभिड बेड स्थापनाका लागि २ करोड २४ लाख, प्रदेशको १ सय १९ वटै स्थानीय तहलाई कोरोना रोकथामका लागि ९ करोड ३५ लाख र सिन्धुली अस्पतालमा अक्सिजन बुस्टर जडानका लागि ३० लाख बजेट उपलब्ध गराएको छ।

    ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाबाट १ करोड ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग भएको पनि मुख्यमन्त्री पौडेलले उल्लेख गरेका छन्। त्यस्तैगरी प्रदेशमा ५० बेडको आइसियु र १ सय ५० बेडको एचडियु कक्ष निर्माणाधीन अवस्थामा छ। 

    प्रत्येक अस्पतालमा न्यूनतम ५ एचडियु बेड हुनेगरी थप ८० बेड स्थापनाका लागि बेड खरिद प्रक्रिया बढाइएको पनि पौडेलको भनाइ छ। उनले १०० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रिया तथा बाँकी १० वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि खरिद प्रक्रिया सुरु गरिएको पनि सदनमा जानकारी गराएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस