बैशाख २८, २०७८
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा देखिएको कोरोनाभाइरसको उत्परिवर्तनलाई अधिक संक्रामक भेरियन्ट घोषणा गरेको छ ।
भारतमा भेटिएको बी–१–६१७ भेरियन्ट अधिक संक्रामक रहेको पाइएको संगठनकी वरिष्ठ वैज्ञानिक मारिया भान केरखोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघिका अध्ययनहरुलाई उल्लेख गर्दै केरखोभले भाइरसको ‘न्युट्रलाइजेसन’मा कमी आएको बताएकी छन् । यसले भाइरसविरुद्ध खोप कम प्रभावकारी हुनसक्ने सम्भावलाई दर्शाउँछ ।
“यसले गर्दा हामी यो भेरियन्टलाई विश्वव्यापी ‘चिन्ताको विषय’को रुपमा वर्गीकरण गर्दै छौँ,” उनले भनिन् । यद्यपि, भारतीय भेरियन्टविरुद्ध औषधि वा खोप कम प्रभावकारी हुने ठोस प्रमाण भने नभेटिएको उनले स्पष्ट पारेकी छन् ।
डब्ल्यूएचओले कोरोनाभाइरसलाई ‘अवलोकनमा रहेको भेरियन्ट’ र ‘चिन्ताजनक भेरियन्ट’ गरी दुई प्रकारमा वर्गीकरण गरेको छ । ‘चिन्ताजनक भेरयन्ट’ बढी संक्रामक, नियन्त्रण गर्न कठिन र धेरै गम्भीर बिरामी गराउने खालको हुन्छ ।
यसअघि, डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएको कोरोनाभाइरसको भेरियन्टलाई ‘चिन्ताजनक’ घोषणा गरेको थियो भने भारतीय भेरियन्टलाई ‘अवलोकनमा रहेको भेरियन्ट’को रुपमा अध्ययन गरिरहेको थियो ।
भाइरस जति फैलियो, त्यति धेरै म्युटेट (उत्परिवर्तन) हुने स्पष्ट पार्दै विज्ञहरुले भाइरसको संक्रमण रोक्नलाई आवश्यक सबै कदम चाल्नुपर्नेमा जोड दिएका छन् । विश्वका अधिकांश क्षेत्रमा कोरोनाभाइरस संक्रमण दर घटिरहेको भए पनि दक्षिण एसिया र दक्षिणपूवी एसियामा संक्रमण बढिरहेको डब्ल्यूएचओले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस