२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

  • २०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २१, २०७८

    काठमाडौं : कोरोना महामारीको दोस्रो लहरमा संक्रमणदर तीव्र भई मृत्यु हुनेको संख्यासमेत बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा तयारी गरेको छ।

    नेपालमा पछिल्ला दिनमा संक्रमण तीव्र हुनुका साथै अस्पतालमा भर्ना हुने र ज्यान गुमाउने संक्रमित संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्न लागेको हो।

    देशका सम्पूर्ण संयन्त्र कोरोना महामारीमा परिचालन गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरूसँग सल्लाह गरी तयारी अघि बढाएको मन्त्रालयका एक अधिकारीले बताए।

    कोरोनाको पहिलो लहर चल्दा अघिल्लो वर्ष पनि जनस्वास्थ्य संकटकाल लगाउनेबारे बहस चलेको थियो। विभागीय मन्त्रालयले कोभिड १९ नियन्त्रण र रोकथाम गर्न भन्दै ल्याएको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लानमा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने लेखिएको थियो। त्यो बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई यसबारे राय सुझाव दिएको र संकटकाल लगाउन प्रस्तावसमेत गरेको थियो।

    संक्रमण तीव्र फैलिएको अवस्थामा निषेधाज्ञा तथा लकडाउन प्रभावकारी नभए जनस्वास्थ्य संकटकाल लगाएर भए पनि संक्रमण नियन्त्रणमा लिनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन्‌।

    कोभिड १९ सम्बन्धी हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लानमा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने उल्लेख छ।

    जनस्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रस्ताव क्याबिनेटमा लैजानुपर्ने हुन्छ। त्यसपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिन्छ।

    संक्रमण रोग ऐन २०३०, संक्रामक रोग ऐन २०२०, जनस्वास्थ्य सेवा ऐन २०७५, विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार ‘स्वास्थ्य संकटकाल’‌ लगाइन्छ। यी ऐनका आधारमा सरकारले स्वास्थ्यमा आपतकालीन सेवा घोषणा गर्छ।

    जनस्वास्थ्य संकटकाल घोषणा भएपछि विश्‍व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका शर्तहरू स्वतस् लागू हुनेछन्।

    हेल्थ इमर्जेन्सी घोषणासँगै संक्रमतिलाई घर या क्‍वारेन्टाइनमै राखेर लक्षण भएका संक्रमितलाई मात्रै अस्पताल लगिनेछ। ५ हजारभन्दा बढी सक्रिय केस भएमा स्वास्थ्य समस्या भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने उल्लेख छ। अन्यलाई भने घरमै क्‍वारेन्टाइनमा बस्ने र समस्या भएमा मात्रै अस्पताल ल्याइने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस