२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

देशभरका विद्यालय बन्दको निर्णय, पूर्वनिर्धारित सबै परीक्षा स्थगित

  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १३, २०७८

    काठमाडौं : सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले  कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यसअघि वैशाख ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो । अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो ।

    परीक्षा स्थगित

    सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए   । 

    उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी  भएको निर्णय नै हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । 

    सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​

    यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।  त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।

    हेर्नुहोस् विज्ञप्ति


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस