२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

लकडाउनबारे प्रधानमन्त्री : देशव्यापी आवश्यक छैन, मापदण्डमा कडाइ गरौँ

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १२, २०७८

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

    पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्।

    सिसिएमसीले गरेको ब्रिफिङपछि प्रधानमन्त्रीले केही दिन अघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको सङ्क्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।

    सिसिएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सङ्क्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो। यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सिसिएमसीलाई निर्देशन दिए।

    ओलीले देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए। ‘सरकारले गरेको निर्णय विपरीत रंगशालामा धेरै दर्शक राखेर खेल खेलाएको छ र बढी भिडभाड भइरहेको छ भनेर गुनासो गर्नुभयो। यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन उहाँले निर्देशन दिनुभयो’ सचिव बरालले भने।

    नेपालमा पछिल्लो समय दैनिक दुई हजार बढीको दरमा कोरोना संक्रमित थपिन थालेका छन्। शनिबार मात्रै २ हजार ६ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोना स‌‌क्रमणबाट ज्यान गुमाउनेको स‌ंख्या पनि दिनहुँ बढिरहेको छ। कोरोना संक्रमण फैलिने क्रम बढेपछि काठमाडौं तथा ठूला सहरका विद्यालय बन्द गरिएको छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनको अनुमति दिइएको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस