२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

विनाशकारी भूकम्पको ६ वर्ष पूरा, पुनर्निर्माण अन्तिम चरणमा

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १२, २०७८

    चौतारा : नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ। विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो।

    मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण हजारौ मानिसहरुले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौ आवास भत्केका थिए।

    भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

    भूकम्प सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामा पुगेको थियो। भूकम्पपछिको पुनिर्माण अन्तिम चरणमा पुगेको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताए।

    अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राही मध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए।

    यस्तै पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि बताए। यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए।

    निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरूको सम्बोधन गरिएको पनि बताए।

    भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस