बैशाख १०, २०७८
चाैतारा : सिन्धुपाल्चोक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार मेलम्चीमा सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरेका छन्।
उनले प्रतियोगिताको उद्घाटन गर्दै बौद्धिक र प्राविधिक शिक्षाभन्दा पनि शारीरिक शिक्षा महत्वपूर्ण हुने बताए। शरीर स्वस्थ रहेमा स्वच्छ दिमाग हुने हुँदा मानव जीवनमा खेलकुदको विशेष महत्व रहने उनको भनाई थियो।
जिल्लामा विभिन्न खेल सञ्चालन गर्नका लागि पूर्वाधार विकासमा ध्यान दिने पनि प्रतिवद्धता जाहेर गरे।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज दुलाल र निमा लामाले खेल सफलताका लागि शुभकामना व्यक्त गरे।
प्रतियोगितामा एथ्लेटिक्स, कबड्डी, भलिबल, कराँते, उसुलगायतका खेल समावेश गरिएको खेलमा जिल्लाका आठ पालिकाको सहभागिता रहेको छ। प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस