बैशाख १०, २०७८
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता प्रतिक्रिया दिएका छन्।
मेरियट होटलमा भएको वार्तापछि बाहिरिँदै नेपालले यस्ताे बताएका हुन्। ओली निस्किएको करिब आधि घण्टापछि होटलबाट निस्किएका नेता नेपालले पत्रकारहरुसँग टाढैबाट हात हल्लाउँदै भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने ओली र नेपालबीचको भेटवार्ता सकारात्मक बन्दै भइरहेको बताए।
‘भेटवार्ता सकारात्मक भयो। अब सहमति नभएसम्म भेटवार्ताले निरन्तरता पाउँछ’ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब कहिले बस्छ भन्ने टुंगो भएको छैन।’
बुधबारको भेटवार्ताको क्रममा पनि दुवै नेता आ आफ्नो अडानबाट पछि हट्न नसक्ने निष्कर्षका साथ उठेका थिए। बैठकमा ओलीले पार्टीमा गुटबन्दी नचल्ने भन्दै आफ्नो कुरा राख्न आग्रह गरेका थिए। तर, नेता नेपालले ओलीले गरेको पार्टीभित्रको एकलौटी निर्णय फिर्ता हुनुपर्ने अडान राखेका थिए।
महन्थतिर नजिक ओली
कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा छन्।
तर, अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकार निरन्तरताको पक्षमा देखिएका छन्। ओलीको गत बैशाख ८ गते ल्याएको अध्यादेशले रातारात एकता भएको मद्येशी दल अहिलेको फुटको अभ्यास गरिरहेका छन्।
सत्ता सहकार्यको विवाद चुलिँदै जाँदा साविक राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले आन्तरिक छलफल गरेका छन्। अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई सरकारसँग भइरहेको वार्ताको बिषयमा जानकारी गराएका छन्। बैठकमा सांसदहरुलाई सरकारसँग भइरहेको वार्ता र त्यसको परिणामको बिषयमा जानकारी गराएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।
‘उहाँले राख्नुभएको बैठकमा हाम्रो माग सम्बोधन गर्नका लागि सरकार सकारात्मक भइरहेको बताउनुभयो’ अध्यक्ष ठाकुरको भनाई उदृत गर्दै कर्णले भने, ‘सरकारले हाम्रो सबै एजेण्डा पुरा गरेर सहयोग गर्न सकिन्छ। सरकारले माग सम्बोधनको प्रक्रिया अगाडि बढाइसकेको छ।’ अध्यक्ष ठाकुरले आफू खेमाको सांसदलाई मात्रै बोलाएको भएपनि त्यस बारेमा खुलाएनन्।
जसपाले सरकारसँग सांसद रेशम चौधरी रिहा, मधेस तथा थरूहट आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग अघि सार्दै आइरहेको छ। कांग्रेस, माओवादी र साविक संघीय समाजवादी पार्टीका नेताहरुले ओली सरकार ढाल्न पहल गरेपछि मधेसवादी दलको माग सम्बोधन गर्न सक्रिय भएर लागेका छन्।
प्रतिक्रिया दिनुहोस