२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

असारसम्म संख्या तीन लाख काेराेना संक्रमित पुग्ने सरकारकाे अनुमान

  • २०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ९, २०७८
    काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्म नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ।

    मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो।

    बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्।

    उनका अनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ।

    सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए। भने, ‘असारसम्म करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ। ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ।’

    उनले थपे, ‘यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरु चलाएका छौं। केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेका छौं, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौं। यो बीचमा हामी करिब ५ सय जति आइसियु बेडहरु थप्यौं, करिब ४ सय जति भेन्टिलेटरहरु थप गर्न सक्या छौं र त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं।’

    सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित बिरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए। उनले भने, ‘पछिल्लो हामीले दुई तीन वटा हस्पिटलहरुको टेकु हस्पिटल, पाटन हस्पिटल हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरु जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिन भित्र बिरामीहरु मरिरहेको अवस्था देखिन्छ। यति छिटो संक्रमण बढिराखेको छ।’ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस