बैशाख ५, २०७८
चौतारा : सबैरै उठेर सुनकोसी बगर पुग्छन् । बालुवा चाल्छन्, माछा मार्छन् । उनको सहज जीविकाको मानक दिनभर चालेको बालुवाको थुप्रो र माछाको संख्याले तोक्छ । उनको खेतबारी या जायजेथा भनेकै यही बगर मात्र हो ।
‘सम्पत्तिका नाममा कौडी छैन, यति नगरे कसरी बाँच्नु हजुर ?’ चौतारा साँगाचोक नगरपालिका सुकुटेका ४५ वर्षीय सुनील माझीले भने, ‘बालुवा नचाले, माछा नमारे, हाम्रो बाँच्ने बाटो नै हुन्न नि !’
भूकम्पपछि घर भत्कियो, भएको सबै जमिन पनि भास्सियो । हाल छिमेकीको घरछेउ टहरामा बसिरहेका उनले बगरबाटै आर्जेको रकमले जायजेथा जोड्ने सोचेका छन् । त्यसकै लागि मेलम्चीदेखि चाकुसम्मको बगर उनका लागि कर्मथलो बनेको छ । परिवार पाल्ने एक्लो जिम्मेवारी रहेकाले पनि उनलाई खासै फुर्सद मिल्दैन ।
सुनीलले जस्तै बगरबाटै समृद्धिको सपना देखिरहेका लालबहादुरले बालुवा चालेर कमाएको पैसाले छोराछोरीलाई पढाइरहेका छन् । ‘छोरा पनि बिदाका बेला बालुवा झिक्न सघाउन आउँछ, त्यही मौकामा उसले पनि बालुवाको काम सिक्दै छ,’ उनले भने । यहाँ बालुवा चालेरै एउटा परिवारले दैनिक ४ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले सुनाए ।
‘म मात्र होइन, यहाँ अधिकांश घरपरिवार बगरकै कमाइले बाँचिरहेका छन्,’ नजिकै थुपारेको बालुवा देखाएर उनले भने, ‘यही हाम्रो खेतबारी हो, जे भने पनि कमाउने बाटो यही हो ।’ लालबहादुर बगरलाई बरदान मान्छन् । बगरमै कमाएको केही रकमले घर बनाए । बिरामी श्रीमतीको उपचार गरिरहेका छन् ।
सुनील र लालबहादुर मात्र होइन, सुनकोसी र इन्द्रावती तटीय क्षेत्रमा बस्ने माझी, दनुवार र पहरी समुदायका मानिसहरूको अधिकांश समय बगरमै बित्छ । बगरमै श्रमको खेती गर्न उनीहरूलाई एकछिन पनि अलमलिने समय मिल्दैन । जामुनेदेखि प्युघर बाहुनेपाटीसम्म बस्ने ७ हजार माझी, १५ सय दनुवार र एक सयजति पहरी समुदायका मानिसका लागि बालुवा चाल्नु र माछा मार्नु दैनिकी हो ।
स्थानीयका अनुसार पहिले–पहिले माझी समुदायका लागि बाह्रै महिना सुनकोसी र इन्द्रवती नदी खुला हुन्थ्यो । अहिले वर्षमा तीन महिनामात्रै सजिलोसँग बालुवा चाल्न पाउँछन् । असार, साउन र भदौमा सुनकोसी र इन्द्रावतीमा एक्स्काभेटर प्रयोगमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपछि माझी समुदायलाई बालुवा निकाल्न सहज भएको हो । केही समययता नदी किनारमै क्रसर उद्योग स्थापना भएपछि उनीहरूलाई जीवन धान्न मुस्किल पर्दै गएको छ ।
जिल्ला समन्वय समिति (जिसस) ले नदीजन्य पदार्थ उत्खननको ठेक्काबाट राम्रै आम्दानी हुने भएपछि क्रसर व्यवसायीलाई प्रोत्साहन गरिरहेको छ । यसले माझी समुदायको उठीबास लाग्ने अवस्था छ । यो समुदायले भने पुस्तौंदेखि बगर र बालुवाकै कारण आफूहरूको जीविका चलेको भन्दै जिससले माझीमैत्री वातावरण बनाइदिनुपर्ने माग राखेको छ ।
‘प्राकृतिक संरचनामा असर नपर्ने गरी हामीलाई उत्खनन अधिकार दिनुमा केही बेफाइदा छैन,’ डुम्रेघाटका सुन्दर माझीले भने, ‘एक्स्काभेटरले उत्खनन गर्दा निम्तिएको जोखिम हेर्न जरुरी छ, उहाँहरूले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ ।’
उनले जथाभावी क्रसर स्थापना भइरहेकाले कोसीको किनारी भाग क्षतविक्षत बनेको दाबी गरे । जिल्लाभर हाल १८ क्रसर उद्योग सञ्चालनमा छन् । नदीजन्य ठेक्काबाट जिससलाई गएको वर्ष २७ करोड रुपैयाँ आम्दानी भएको थियो । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस