बैशाख १, २०७८
चौतारा : सभामुख अग्नि प्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउज सबैखाले प्रयत्न गर्ने बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै सापकोटाले यस्तो प्रतिवद्दता जनाएका हुन् ।
संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनको चरणमा रहेको भन्दै उनले संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी रहेको बताएका छन् ।
‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु’, सभामुखले शुभकामना दिँदै भनेका छन्, ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक छ ।’
प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशीला तयार हुने उनको भनाइ छ । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस