चैत १६, २०७७
चौतारा : केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा लागेको तुवाँलो भोलि बेलुकीसम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावका कारण हावाको गति बढ्ने हुँदा मंगलबार बेलुकीदेखि तुवाँलो केही फाटेर जाने अनुमान गरिएको महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले बताइन्। उनले सोमबार र मंगलबार दिउँसोसम्म तुवाँलो लागिरहने जानकारी दिइन्।
मंगलबार बेलुकीदेखि हल्का पानी पर्ने सम्भवना रहेको उनले बताइन्। पानी नपरेसम्म वायु प्रदूषण नहट्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २५ देखि २७ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस