२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आइतबारदेखि काठमाडौंका घरघरमा मेलम्चीको पानी, दैनिक चार करोड लिटर वितरण

  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ३ साल अघि
  • चैत १४, २०७७

    चौतारा : बहुचर्चित मेलम्ची खानेपानी आइतबारदेखि काठमाडौंका घरका धारामा आउने भएको छ।

    मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले आगामी आइतबारदेखि दैनिक चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको जानकारी दिए। 

    पानी वितरण तयारीको काम सम्पन्न भैसकेको बताउँदै उनले भने, ‘आइतबारबाट मेलम्चीको पानी धारामा पुरानै पाइपबाट पठाउँदै छौँ।’ उनका अनुसार पहिलो चरणमा काठमाडौं जिल्लामा मात्रै पानी पठाइने छ।

    ‘अहिलेलाई काठमाडौंमा मात्रै पानी पठाउँछौं,’उनले भने, ‘यो एउटा परिक्षण पनि गर्न लागिएकाले विस्तारै भक्तपुर, ललितपुर जिल्लावासीको धारामा पनि पानी पठाउँछौं।’ उनका अनुसार आइतबारदेखि  पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने छ।

    पाँच सात दिनसम्म साढे ६ करोड पानी वितरण गरिने छ। ‘पछि कति पानी वितरण गर्दै जाने हो छलफल गरेर वितरण गर्दै जान्छौं,’ प्रजापतिले भने। उनका अनुसार पानी वितरणका लागि १० वटा पानी रिजर्भ ट्यांकी बनाउनुपर्नेमा ९ वटा निर्माण सकिएको छ। बाँकी एउटा ट्यांकीको काम पनि अन्तिम चरणमा पुगेको छ।

    त्यस्तै, उपत्यकाभित्र ८० हजार नयाँ धारा जडान गर्नुपर्ने छ। ‘अहिलेसम्म करिब दुई हजार धारा जडान गरिसकेका छौँ,’ उनले भने, ‘हामी निरन्तर धारा जडानका कार्यहरु गरिरहेका छौं।’ 

    उपनिर्देशक प्रजापतिका अनुसार उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यही पानीले उपत्यका बासीको  ४० प्रतिशत माग मात्रै धान्ने उनले जानकारी दिए।

    उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ। 

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ। केयुकेयलबाट वर्षातको समयमा दैनिक १६/१७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति भइरहेको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस