२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

जुट्न नपाउदै फुटतिर एमाले, ओली इतर समूहको कार्यकर्ता भेला

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • चैत ४, २०७७

    काठमाडौं :  नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरू हुँदैछ। 

    ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेस विहान ११ बजेदेखि भेला शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। 

    भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। 

    राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए।

    सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ।

    ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।

    यसैबीच ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका हुन्। 

    भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनी पोखरेलले दिएका छन्। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस