चैत २, २०७७
चौतारा : बाल विवाह न्यूनीकरणका लागि माध्यमिक तहका विद्यार्थीहरू अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाका भित्रका २३ वटा माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम आइतबारबाट सुरु भएको हो।
पछिल्लो समयमा परिवारको करकापमा भन्दा पनि आफूखुसी प्रेम बालविवाह गर्नेहरूको सङ्ख्या बढीरहेको यस्तो कार्यक्रमले बालबिबाह न्यूनिकरणमा बल पुग्ने नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन्।
माध्यमिक तहका अध्ययनरत बालबालिका बालविवाह हुने उमेर समूहका हुने हुँदा उनीहरूमा नै बालविवाहले पर्ने असरको विषयमा जानकारी गराउन सके बाल विवाहका घटनामा न्यूनीकरण हुने बताइन्।
हालसम्म नगरपालिका वडा नं. ४ को सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय, वडा नं. ४ कै कालीदेवी मावि, वडा नं. ९ को इर्खु मावि र वडा नं. १ मा रहेको सेतीदेवी माविमा अभिमुखीकरण कार्यक्रम गरेको बाल विवाह न्यूनीकरण प्रदेश निर्माण सहजकर्ता अर्जुन शर्माले बताए।
अभिमुखीकरण कार्यक्रममा बाल विवाहले पार्ने असर, बालविवाह गरे वा गराएमा हुनसक्ने कानुनी सजाय र बाल विवाह न्यूनीकरणमा विद्यार्थी, अभिभावक र विद्यालयको भूमिकाको विषयमा जानकारी गराइएको उनको भनाई छ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.को आयोजनमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले २०७८ सम्ममा प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने रणनीतिका साथ सशर्त अनुदानमा प्रदेशका सम्पूर्ण स्थानीय तहहरूमा बाल विवाह न्यूनीकरणका लागि सामृुदाय परिचालको लागि बजेट समेत विनियोजन गरेको थियो।
प्रतिक्रिया दिनुहोस