फागुन २९, २०७७
चौतारा : नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याइएको छ । नेपाल–चीनको नाका तातोपानी हुँदै चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइसकेको छ ।
चीनको सिगात्सेमा सङ्कलन गरी राखिएको मल आइतबारदेखि नेपाल आउन लागेको तातोपानी क्वारेन्टाइन अधिकृत बुद्ध चन्द्रले बताए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क मार्केटसँग ढुवानीको सम्झौता गरी नेपाल ल्याउन लागेको हो ।
चीनबाट साल्ट ट्रेडिङ कर्पोरेसनले चार हजार मेट्रिक टन मल ल्याउँदै छ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक पङ्कज जोशीले शुक्रबारसम्म दुई हजार मेट्रिक टन मल नेपाल आइपुगेको बताए।
चीनबाट पहिला पनि मल आउँथ्यो तर त्यो भारतको बाटो भएर आउने गथ्र्यो त्यसले निकै समय लिन्थ्यो अब सीधै नेपालको नाकाबाट आउने भएकाले समयको बचत हुने साल्ट ट्रेडिङका बृजेश झाले बताए। त्यहाँबाट आउने युरिया मलमध्ये १२ सय मेट्रिक टन काभ्रेको बनेपा, आठ सय मेट्रिक टन नुवाकोट र अरू बाँकी काठमाडौँ गोदाममा राखिने उनले बताए।
चीनबाट प्रतिमेट्रिक टन ३८९.९० अमेरिकी डलमा सो चार हजार मेट्रिक टन मल खरिद गरिएको हो । तातोपानीबाट मल ल्याउँदा सहज भयो भने त्यसलाई निरन्तरता दिने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए।
तातोपानी नाकाबाट पहिलो पटक यसरी मल ल्याइँदै छ । यो परीक्षण नै हो यदि यो सफल भयो भने त्यो नाका हुँदै नियमित मल ल्याउने सोच सरकारको रहेको छ।
नेपालमा बर्सेनि हुने मलको हाहाकारलाई रोक्नका लागि सरकारले चौतर्फी प्रयास गरेको हो । भारत, बङ्गलादेश र चीनबाट रासायनिक मल भित्रिदै छ । जेठदेखि भदौसम्म मलको अत्यधिक माग हुने देखिएको हुनाले त्यसबेला अभाव नहोस् भनेर सरकारले पर्याप्त रूपमा मलको भण्डारण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस