२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चौतारा नगरको माघ मसान्तसम्म ३६.७३ प्रतिशत मात्रै विकास बजेट खर्च

  • २०७७ फागुन २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • फागुन २१, २०७७

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाको नवौँ नगर सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न नगर सभामा नगरपालिकाले आव २०७७/७८को माघ मसान्तसम्म सम्पन्न भएका कार्य सम्पन्न प्रतिवेदन पेस भएको छ । नगरपालिका उपप्रमुख जानुका पराजुलीले प्रस्तुत गरेको कार्य प्रगति प्रतिवेदनमा नगरपालिकाले माघ मसान्तसम्म ३६.७३ प्रतिशत विकास बजेट मात्रै खर्च गरेको छ ।

    नगरपालिकाले आ.ब. २०७७/०७८ को लागि चालु बजेटमा ६९ करोड ५३ लाख ९ हजार ८ सय ८३ र पुँजीगत तर्फ ४६करोड ५९ लाख ५६ हजार ७ सय गरी जम्मा कुल १ अर्ब १६ करोड १२ लाख ६६ हजार ५ सय ८३ कुल बजेट विनियोजन गरेको थियो । जसमा माघ मसान्त सम्म ४२ करोड ६६ लाख ५ हजार ९ सय ६३ रुपैयाँ मात्र खर्च भएको नगरपालिका उपप्रमुख पराजुलीले नगर सभामा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

    नगरपालिकाले सडक तर्फ ३८.७९ किलोमिटर सडकको नयाँ ट्रायल खोलेको जनाएको छ । यस्तै सडक तर्फ नै ४२१ मिटर ढलान कार्य सम्पन्न गरेको छ भने १५५० मिटर सडक कालोपत्रे भएका छन् ।

    नगरपालिकाले यस आर्थिक वर्षको माघ मसान्त सम्म मात्रै नगरपालिकाले शीर्षकगत आयमा रु ५१ लाख ९६ हजार ३ सय १९ सङ्कलन गरेको छ । यस्तै नगरपालिकाले दोस्रो चौमासिकसम्म ढुङ्गा, गिट्टी,बालुवाको बिक्रीबाट १४ करोड ५५ लाख २० हजार ५ सय ६९ सङ्कलन भएको समेत नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले वडागत रूपमा यस आर्थिक वर्षको माघ मसान्त सम्ममा १ करोड ८ लाख ८७ हजार १ सय पचास राजस्व सङ्कलन गरेको छ । नगरपालिकाका १४ वडाहरू मध्य वडा नंं। ५ चौताराले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    वडा नं. ५ ले माघ मसान्तसम्ममा २५ लाख ७८ हजार ३ सय ६० राजस्व सङ्कलन गरेको छ । यस्तै नगरपालिकाको १२ नं. वडाले सबैभन्दा कम राजस्व सङ्कलन गरेको छ । सो वडाले माघ मसान्त सम्ममा २ लाख २५ हजार ८ सय ९३ रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।

    यस्तै, नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीहरु छनोट गरी सम्मान गरेको छ । नगर सभाले नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र बिध्यार्थीहरुलाई सम्मान गरेको हो । नगरपालिका भित्र रहेका सम्पुुर्ण विद्यालयमा उत्कृष्ट रहेका विद्यालयलाई नगद सहित सम्मान गरिएको हो । यसै गरी नगरपालिकाले नगरभित्रका सबै विद्यालयका बिद्यार्थीहरुमध्येबाट नर्सरी देखि कक्षा १२ सम्म अध्ययनरत उत्कृष्ट छात्र र छात्रा विद्यार्थीलाई समेत नगद सहित सम्मान गरेको हो ।

    रघुसिंलाई दीर्घ सेवा पदकबाट

    नगरपालिका–४ स्थित कालिकादेवी माविका व्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङ दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । शैक्षिक क्षेत्रको विकासमा योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । नगर सभाको अवसरमा उनलाई शैक्षिक क्षेत्रको विकासमा योगदान गरे बापत दीर्घ सेवा पदकले सम्मानित गरेको हो ।

    नगर प्रमुख अमान सिंह तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र पौडेलले संयूक्त रुपमा अध्यक्ष तामाङलाई पदक, नगद ६ हजार रुपैयाँ र सम्मानपत्र द्धारा सम्मानित गरेका हुन् । तामाङलाई १५ तोलाको चाँदीबाट बनेको पदक दिइएको हो ।

    ४२ वर्षीय तामाङ १७ वर्षदेखि लगातार कालीका देवीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस