२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बालबालिकालाई कसरी पुस्तकमा अभ्यस्त गराउने ?

  • २०७७ फागुन २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • फागुन २०, २०७७

    एजेन्सी : स्मार्टफोन, ट्याबलेट, ल्यापटप आदिको बढ्दो प्रचलनसँगै बालबालिकाको पठन संस्कृति पनि बद्लिएको छ । अहिले उनीहरु डिजिटल माध्यामबाटै पठनपाठन गर्न रुचाउँछन् । इन्टनेटको प्रयोगले यसलाई थप सहज बनाएको छ । कुनैपनि जिज्ञासाको हल खोज्न उनीहरु गुगलको भर पर्छन् । खोजेको कुराको नतिजा फटाफट आउने भएकाले बालबालिकाहरु यसैमा बढी तल्लिन हुन्छन् ।

    यसको साइड इफेक्ट भने उनीहरुमा पुस्तक पढ्ने प्रवृत्ति घट्दैछ । विद्यालयको पाठ्यपुस्तक र अन्य उपयोगी पुस्तक पढ्ने बानी पनि हराउँदैछ ।

    सन् २०१३ देखि २०१५ सम्म गरिएको एक सर्भेक्षणमा भारत, जापान, अमेरिका, जर्मनी र स्लोभेनियाका ४ सय २९ विश्वविद्यालयका छात्रहरुलाई डिजिटल र प्रिन्टेड पुस्तकको तुलना गर्न लगाइएको थियो । यसमा अधिकांसले भनेका थिए कि प्रिन्टेड पुस्तकको बास्ना उनीहरुलाई मन पर्छ ।

    कागजलाई छुँदा, हेर्दा, समात्दा उनीहरुलाई बेग्लै आभास हुन्छ र पढेको कुरा पनि दिमागमा घुस्छ । त्यसैले बच्चाहरुलाई डिजिटल मात्र नभएर प्रिन्टेड पुस्तक पनि उपलब्ध गराउनु आवश्यक छ ।

    यसैगरी सामाजिक सञ्जालले पनि उनीहरुलाई असर गरेको छ । सामाजिक सञ्जालमा ज्ञान त धेरै हुन्छन्, तर ती कति सही हुन्छन् वा गलत भन्ने हुँदैन । जसको मनमा जे आउँछ, त्यसलाई अडियो, भिडियो वा टेक्स्टका रुपमा पोष्ट गरिदिन्छ । यस्ता कुराहरुले बालबालिकाको दिमागमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ ।

    पठन संस्कृतिमा आएको यो परिवर्तनले उनीहरुमा मनोवैज्ञानिक जटिलता पनि थपिदिएको छ । खासगरी उनीहरुले धैर्यपूर्वक पुस्तक पढ्ने, मनन गर्ने, विश्लेषण गर्ने क्षमता गुमाउँदैछन् । त्यसैले उनीहरुलाई पुस्तक पढ्नमा अभ्यस्त गराउनु जरुरी छ ।

    किताब पढेर सुनाउने

    सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउन सुरु गर्नुपर्छ । यसबाट बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा बालबालिकासँगको सम्वन्ध पनि प्रगाढ र सुमधुर हुन्छ ।

    प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुपर्छ । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।

    बुझेर पढ्ने बानी

    इन्टरनेटमा अभ्यस्त बच्चाहरु सर्सती र हतारमा पढ्छन् । तर, यस किसिमको पठन विधी उचित हुँदैन । बरु, पढेका कुरालाई बुझ्ने, मनन गर्ने र त्यसलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने बानी गर्नुपर्छ । त्यसैले पुस्तक पढाइरहँदा बालबालिकालाई सक्रिय गराउन केही प्रश्न सोध्न सकिन्छ । जस्तो, अब के हुनुपर्छ ? यो पात्रले गरेको काम ठिक छ ? यदि तिमी यसको ठाउँमा भएको भए के गथ्र्यौं ? आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।

    बच्चाको रोलमोडल बन्ने

    तपाईंको बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । तपाईं स्वयम् उसको रोलमोडल बन्न सक्नुहुन्छ र उसको उपस्थितमा पढ्ने गरौं । तपाईंलाई पढ्नमा धेरै शौख नहोला, तैपनि प्रयास गर्नुपर्छ । तपाईंले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।

    भिन्न प्रकारका पुस्तकलाई साथी बनाउने

    जब तपाईंका बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक-फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ ।

    खेलैखेलमा पढाई

    कयौं खेलहरुको माध्यमले तपाईं आफ्ना बच्चाहरुलाई पढाईतर्फ आकर्षित गर्न सक्नुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस