२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्चीको पानी सुरुङमा, हेलम्बुका स्थानीय असन्तुष्ट

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ११, २०७७

    चौतारा : मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण शुरू गरिएको छ । यो आयोजना निर्माणको लगभग अन्तिम अवस्था हो ।

    तर, अझै पनि काठमाडौंवासी मेलम्चीको पानी चाँडै धारामा झर्ला भन्नेमा आश्वस्त छैनन् ।

    मेलम्ची खानेपानी विकास समितिले सुरुङबाट पानी पठाएको छ । यसलाई परीक्षण अवधिको रूपमा लिइएको मितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । सुरुङभित्र पानी होल्ड गर्ने र खाली गर्ने नियमित प्रक्रिया भइरहेको उनले बताए।

    मेलम्चीबाट पठाइएको पानी सुन्दरीजलसम्म पुग्न करीब १५ देखि १७ दिन लाग्ने उनले बताए।

    उनले भने, ‘१७ दिन जति त हेर्नैपर्ने हुन्छ । अहिले भनेको सुरुङ निरीक्षण नै हो । पानी पठाएपछिको समयमा परामर्शदाता र विभिन्न विज्ञले सुरुङको निरीक्षण गरेर ठीक छ भनेमा पानी सुन्दरीजलमा ल्याएर वितरणका लागि उपलब्ध गराउन सकिन्छ ।’

    मेलम्चीको सुरुङमा पानी हालेर परीक्षणको शुरुआत गर्न खानेपानी मन्त्री मणिचन्द्र थापा आयोजनास्थल पुगेका थिए । मन्त्री थापाले भने तीन महिनामा काठमाडौंमा पानी आउने बताए ।

    मेलम्ची खानेपानीको मुहानका स्थानीय बासिन्दा भने आयोजनासँग असन्तुष्ट बनेका छन् । हेलम्बु गाउँपालिका–१ स्थित आम्बथानमा रहेको मुहानका बासिन्दाहरू आफ्ना माग पूरा नभएको भन्दै रुष्ट बनिरहेका छन्।

    मेलम्चीको पानी लैजाने चर्चा चल्न थालेसँगै गाउँपालिकाका स्थानीयहरूले आयोजनासँग विभिन्न माग राखेका थिए ।

    तर माग पूरा नभएको भन्दै पानी परीक्षणको शुरुआत गर्ने कार्यक्रम उनीहरूले बहिष्कार गरे । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कार्यक्रममा निम्त्याइएको थियो । तर उनी पनि गएनन् ।

    ‘मागहरू पूरा नभए पनि हामी राष्ट्रिय महत्वको आयोजनामा सहयोग गर्छौं’ उनले भने।

    काठमाडौंवासीले हेलम्बुको पानी खान लागेको कुरा बिर्सन नहुने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस