फाल्गुन ९, २०७७
काठमाडौं : सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दैनिक एक जना विद्यार्थीले १५० देखि दुई सय ग्रामसम्म ताजा खाजा खान पाउने गरी खाजा कार्यक्रम देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिएको समाचार गोरखापत्र दैनिकले लेखेको छ। यसले विद्यार्थीको पौष्टिक पक्षका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।
सरकारले यस पटक कर्णालीका विद्यार्थीलाई प्रतिदिन २० रुपियाँ र अन्य क्षेत्रका विद्यार्थीलाई प्रतिदिन १५ रुपियाँका दरले खाजा खर्च उपलब्ध गराएको छ । यस कार्यक्रमबाट सामुदायिक विद्यालयका कक्षा ५ सम्मका २८ लाखभन्दा बढी विद्यार्थीले दैनिक निःशुल्क खाजा खान पाउनेछन् । यसका लागि सरकारले यस वर्षको बजेटमा सात अर्ब ७२ करोड ९३ लाख रुपियाँ विनियोजन गरेको छ ।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले दिवा खाजा कार्यक्रमबाट आर्थिक चलायमान हुने बताए। यसका साथै तयारी खाजा राम्ररी पकाएर मात्रै विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने, खाना तयार भइसकेपछि जति सक्दो छिटो विद्यार्थीलाई वितरण गर्नुपर्ने छ।
यसैगरी दूध, तरकारी, सुप तथा अन्य खाद्यवस्तुलाई राम्ररी पकाउनुुपर्ने आन्तरिक कार्यविधि विद्यालयले पालना गर्नुपर्ने भएको छ । पाकेको खाजा बालबालिकालाई वितरण गर्नुअघि चाखेर सुरक्षित रहेको सुनिश्चित गर्ने, कक्षागत पालोअनुसार तल्लो कक्षाका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनुपर्ने, सफा, स्वच्छ स्थानको प्रबन्ध गर्ने, साबुनपानीले हात धोएर मात्र खाजा खाने बानीको विकास गर्नुपर्ने जिम्मेवारीसमेत विद्यालयले पूरा गर्नुपर्ने भएको छ ।
विद्यालयले दिवा खाजालाई प्राथमिकतामा साथ सञ्चालन गर्नुपर्नेछ । यसका लागि खाजा व्यवस्थापन उपसमिति कार्यदल, आमा वा अभिभावक समूह गठन गर्नुपर्ने तथा यसको अनुगमनका लागि एक जना शिक्षक फोकल शिक्षक तोक्नुपर्ने प्रावधान बनाइएको छ । यसमा विद्यालयमा खुवाइने खाजाबाट प्राप्त हुने पौष्टिक तìव, सरसफाइलगायतका पक्षमा समेत विशेष ध्यान दिनुपर्ने भएको छ ।
घरपरिवारले घरमै बनाएको खाजालाई बढी प्राथमिकता दिने र कम गुणस्तरको बजारबाट जङफुड किनेर खाने बानीमा विस्तारै हट्ने विश्वास निर्देशक पौडेलले व्यक्त गरे। यसबाट बच्चाको स्वास्थ्य राम्रो भई विद्यार्थीको विद्यालय नियमित आउने क्रममा समेत वृद्धि हुने जनाइएको छ ।
दिवा खाजाका लागि ६० खालको खाजाको मेनु तयार पारिएको छ । सोही मेनुमा आधारित भएर विद्यालयले विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस