फागुन ८, २०७७
चौतारा : सिन्धुपाल्चोक जुरे पहिरोपीडित राहतको रकम माग्दै काठमाडौंको माइतीघरमा आज धर्ना बस्ने भएका छन्। दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएपछि पहिरो पीडित शनिबार माइतीघरमा धर्ना बस्न लागेको हुन्।
शनिबार १२ बजे माइतीघरमा धर्ना बस्न लागेको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।
पीडितको मागसहित गर्न लागिएको आन्दोलनमा सबै जिल्लाबासीहरु तथा खास गरी काठमाण्डौंमा बसोबास गर्ने आम सिन्धुवासी ऐक्यबद्धता जनाउन आह्वान समेत गरेको छ।
प्रधानमन्त्री, उपप्रधान, गृहमन्त्रीलगायत संघीय जनप्रतिनिधिहरूसँग पीडितहरूको नाममा संकलन भएको रकम वितरणको व्यवस्थाका लागि हामीले धेरै पटक आग्रह गर्दा समेत वेवास्ता गरेको गुनासो गरेका छन्।
साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो।
पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए। २ करोड २४ लाख रुपियाँ जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पीडितहरुले पाउँन सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस