फागुन ५, २०७७
काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ। कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने प्रावधान समावेश गरिएको जानकारी दिएको समाचार गोरखापत्र दैनिकले लेखेको छ।
सरकारको यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन्। विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो।
नियमावली संशोधन गरी राजपत्रमा छपाइका लागिसमेत पठाइसकिएको जनाइएको छ। सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ। विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो।
सरकारले शिक्षा नियमावलीमा नै संशोधन गरी कोरोना भाइरस जस्ता सङ्क्रमण भएको अवस्थामा भने विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने सक्ने निर्णय गरिएको शिक्षा प्रवक्ता शर्माले बताए। उनले, ‘स्थानान्तरण एक पटकका लागि मात्रै हो तर आगामी वर्ष पनि कोरोना जस्तै सङ्क्रमण भएको अवस्थामा भने यस खालको प्रबन्ध गर्न सक्ने बाटोसमेत नियमावलीले खोलिदिएको छ।’
नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको वर्ष पनि सरकारले एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिएको थियो। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई मन्त्रिपरिषद्ले विशेष निर्णय गरी यस खालको सुविधा विद्यार्थीलाई दिइएको थियो। तर यस पटक भने शिक्षा नियमावलीमा नै संशोधन गरिएको हो।
प्रतिक्रिया दिनुहोस