फागुन ६, २०७७
चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षको प्रदेशसभा सदस्य युवराज दुलाल शरदले बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ आफ्नो प्रतिबद्धतामा ६ घण्टा पनि टिक्न नसकेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अविश्वास प्रस्तावक पक्षको सहमतिमा बैठक कार्यसूची अनुसार नै सुचारु गर्ने प्रतिबद्धताबाट सभामुख पछि हटेको टिप्पणी गरेका हुन्।
‘सभामुख आफ्नो प्रतिबद्धतामा ६ घण्टा टिक्न सक्नुभएन’ उनले लेखेका छन्, ‘बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसँग प्रदेशसभा बैठक सुचारु गर्न हिजो फागुन ४ गते अपरान्ह नेकपा दल नेता अष्टलक्ष्मी शाक्य नेतृत्व टोली र साँझ ८ बजे देखि १० बजेसम्म प्रदेश सरकारका प्रतिनिधि, प्रमुख प्रतिपक्ष दलका नेता र अविश्वास प्रस्तावक पक्षको सहमतिमा बैठक कार्यसूची अनुसार नै सुचारु गर्ने सभामुखले प्रतिबद्धता दिनुभएको थियो।
तर भोलिपल्ट सूर्योदय नहुँदै सचिवलाई बैठक अनिश्चितकालसम्म स्थगन गर्न दवाव दिएर सभामुख सरकारको संरक्षणमा अन्य दलबाट सम्पर्क बिहिन हुनुभएको छ उनले लेखेका छन्, सभामुखबाट नै भएको अमर्यादित र गैरजिम्मेवार कार्यको बिरोधपत्र उपसभामुखको उपस्थितिमा सचिवकोमा दर्ता गरिएको छ।
बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको छ। सभामुख श्रेष्ठले निकालेका सूचना बुधबार बिहानै टाँसिएको थियाे।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि आजका लागि बैठक तय गरिएको थियो।
यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक पनि अघिल्लो राति सूचना जारी गरी फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको थियो। बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको थियो।
प्रतिक्रिया दिनुहोस