माघ २१, २०७७
चौतारा : राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः अध्ययन गरिने भएको छ। गत असारमा परीक्षण गर्न पानी हाल्दा दुर्घटना भएपछि पुनः पानी पठाएर परीक्षण गर्न विज्ञ टोलीले अध्ययन गर्ने भएको हो।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथान आयोजनास्थलमा असार २१ मा पानी पठाइएकोमा ३० गते दुर्घटना भएको थियो। सो दुर्घटनाका कारण कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएका थिए।
इञ्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए। तीमध्ये इञ्जिनियर गोइत घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन्।
त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउन काम थालेको थियो। सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नुअघि दातृ निकायले सुरूङ अध्ययन गरेको थियो।
आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाको दातृ निकाय एसियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइन लागेको हो। गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेट पुनः जडान गरिसकेको छ।
आयोजनाले थप सुधार गरेपछि पनि अझै कुनै समस्या छ-छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए। पन्तका अनुसार समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ।
जर्मन प्राविधिकको टोलीले एक महिनाभित्र अध्ययन गर्ने गरी तयारी भइरहेको पन्तले बताए। यसअघि इटालियन कम्पनीले अध्ययन गरी दिएको प्रतिवेदनमा सानातिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या भने नभएको जनाएको थियो। साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उनको भनाइ छ। सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ। द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने, रड र फ्रेम हाल्ने काम भएको थियो। फ्रेमलाई कङ्क्रिट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए।
सुरुङ सुरक्षित रहेको प्रतिवेदन प्राप्त भएपनि परीक्षण गर्न पानी भरेर केही दिनसम्म त्यो पानीलाई भित्रै थुनेर राखिन्छ। सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए-नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ। सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रूपमा पानी पठाइन्छ। यो प्रकृयाका लागि दुइ महिना समय लाग्ने पन्तले बताए। सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरू हुनेछ।
यसअघि गत असारमा सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा १०औं दिनमा नै सुरुङको गेट फुटेको थियो।
प्रतिक्रिया दिनुहोस