माघ ५, २०७७
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ।
नेपालले कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप खरिद गरेर सुरुमा फ्रन्टलाइनमा खटिएका तीन प्रतिशत जनतामा खोप प्रयोग गर्ने तयारी थालिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब केही दिनमै ुसेरम इन्स्टिच्युट अफ इन्डियाु ले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने सबैखाले तयारी पूरा गरिसकेको छ।
जसका लागि मन्त्रालयले खोप प्रयोग गर्न चाहिने कोरोना निर्देशिकासमेत बनाइसकेको छ। सबै तयारी भइसकेपछि एक दुई दिनमै खोप ल्याउने तयारी भइरहेको मन्त्रालयले जनायो।
गत शुक्रबार औषधि व्यवस्था विभागले कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएपछि नेपालमा यही खोप आउने लगभग निश्चित भएको हो।
भारतमा शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ। यस्तो अवस्थमा नेपालमा खोप कहिलेसम्म आइपुग्छ चर्चा भएको हो। यही खोप ल्याउन स्वास्थ्य सचिव लक्ष्मण अर्याल भर्खरै भारत पुगेर कोभिसिल्ड खोप उत्पादन गरिरहेको कम्पनीसँग सल्लाह गरेर आएका समेत बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट ल्याउन लागेको कोभिसिल्डका लागि हाल रेफ्रिजेरेटर भ्यानको समेत तयारी गरिसकेको बताइएको छ। हाल भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा कोभिड भ्याक्सिन भण्डारणका लागि छुट्याइएको बताइएको छ।
विराटनगर, बाराको पथलैयामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिनको स्टोर, पोखरा, बुटवल र धनगढी नेपालगन्ज र सुर्खेतको एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ।
नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ।
नेपालमा खोप आए सुरुमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित त्यस्तै अन्यलाई लगाइने छ।
प्रतिक्रिया दिनुहोस