२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

सिन्धुपाल्चोकमा कांग्रेस : स्थानीय तहमा दुवै गुटको आ–आफ्नै कब्जा जमाउने दाउ

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • माघ ४, २०७७

    चौतारा : सभापति शेरबहादुर देउवा पार्टीको खेलकुद विभागले गरेको फुटबल प्रतियोगिताको समापन गर्न मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसे पुगे । तर, केन्द्रीय सभापति सहभागी कार्यक्रममा पौडेल समूहका नेता–कार्यकर्ता सहभागी भएनन् ।

    केन्द्रीय सदस्य तथा खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नी आमा कोमलमाया र खड्गबहादुर बस्नेतको स्मृतिमा प्रतियोगिता गरेका हुन् । बस्नेतकै आमन्त्रणमा देउवा बाह्रबिसे पुगेका थिए । तर, कार्यक्रममा जिल्ला सभापति विकास लामा र उनीपक्षीय नेता–कार्यकर्ता सहभागी थिएनन् । लामा संस्थापनइतर समूहसँग नजिक छन् । 

    जिल्लामा केन्द्रका गुटको प्रभाव यो तहसम्म छ कि मेलमिलाप दिवसदेखि बिपी स्मृति दिवससम्मका कार्यक्रम गुटगत रूपमा छुट्टा–छुट्टै हुन्छन् । स्थानीय तहमा दुई गुटले आ–आफ्नै सभापति बनाएर दाबी गरिरहेका छन् । केन्द्रीय समितिले जिल्लालाई गर्न भनेका कार्यक्रम पनि दुई गुटका नेता–कार्यकर्ताले छुट्टाछुट्टै गर्छन् ।

    २९ मंसिरमा जिल्ला कार्यसमितिले गर्न भनेको सरकारविरुद्धको आन्दोलन दुई ठाउँमा भएको थियो । १३औँ महाधिवेशनयता जिल्लाको विवाद निरन्तर छ । तर, सभापति देउवा आफैँ सिन्धुपाल्चोक पुगेका वेलासमेत जिल्लाको झगडा मिलाउन प्रयत्न गरेनन् । कार्यकर्तासँग छलफल गरेनन् ।

    ‘सभापतिज्यू आउनुभएछ, हामीलाई थाहै भएन,’ तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा भन्छन्, ‘कार्यक्रम रहेछ, कार्यक्रमस्थल पनि हाम्रो नजिकै हो, तर, खबरै भएन, त्यसैले गएनौँ पनि ।’

    जिल्ला अधिवेशनमा बस्नेतले आफूनिकट उम्मेदवारलाई जिताउन बल गरेका थिए । तर, आफ्नो उम्मेदवार पराजित भएपछि उनी निर्वाचित जिल्ला सभापति लामालाई स्विकार्दैनन् । त्यसयता निरन्तर विवाद छ । त्यही विवाद अहिले समायोजनका क्रममा थप उत्कर्षमा पुगेको छ । 

    बस्नेतको निर्वाचन क्षेत्र १ नम्बर हो । जहाँ बाह्रबिसे नगरपालिका, भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोसी, बलेफी र जुगल गाउँपालिका पर्छन् । लामा क्षेत्र २ का हुन् । जहाँ मेलम्ची र चौतारा नगरपालिका, इन्द्रायणी, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिका छन् । जिल्ला कार्यसमितिमा लामाको बहुमत छ । तर, लामा र बस्नेतका क्षेत्रीय समिति आ–आफ्नै कब्जामा छन् ।

    स्थानीय तहमा पनि आ–आफ्नै कब्जा बनाउने दाउ दुवैको छ । बस्नेतको गृहनगर बाह्रबिसेमा लामा पार्टीको निर्देशिकाबमोजिम भक्तबहादुर बस्नेतलाई नगर सभापति बनाएको बताउँछन् । तर, बस्नेतले उनलाई स्विकारेका छैनन् । त्रिपुरासुन्दरी गाउँपालिकामा पनि उस्तै विवाद छ । त्यहाँ बस्नेतले पूर्व जिल्ला सचिवका उम्मेदवार भक्तध्वज बोहरालाई सभापति बनाएका छन् । जब कि सभापति लामा पार्टीको निर्देशिकाबमोजिम देवराज श्रष्ेठलाई सभापति बनाएको दाबी गर्छन् ।

    जुगल गाउँपालिकामा पनि दुई गुटका छुट्टाछुट्टै सभापति छन् । बस्नेतले वडाध्यक्ष सनत अधिकारीलाई सभापति बनाएका छन् । तर, उनको क्रियाशील सदस्यता नभएको सभापति लामाको दाबी छ । केन्द्रीय प्रतिनिधिकै रोहवरमा आफूले निर्देशिकाबमोजिम जंगबहादुर तामाङलाई गाउँपालिका समितिको सभापति बनाएको उनी बताउँछन् । जिल्लाका सबैजसो स्थानीय तहमा विवाद छ । 

    नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस