माघ ३, २०७७
काठमाडौँ : नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले शुक्रबार ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् ।
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ नारासहित नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा बेटा भर्सन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताए । उनले नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन आग्रह गरेको समाचार कान्तिपूर दैनिकले लेखेको छ।
यस्ता छन् एपका विशेषता
नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदातावा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ ।
एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप्दै जाने मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस