माघ २, २०७७
काठमाडौं : कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ । यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको उनले बताए ।
केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायत कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन् ।
प्रतिक्रिया दिनुहोस