२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पीडितले अझै पाएनन् टेन्ट र न्यानो कपडा, अध्यक्षले यसबारे बोल्नै मानेनन्

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष २९, २०७७
    चौतारा : भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क जहाँ पहिरोपीडित लिदीवासी ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको प्रतीक्षामा बसिरहेका छन् ।

    उनीहरूका लागि स्थायी बस्तीको व्यवस्थापन त परको कुरा भयो, छिमेकी देश चीनले दिएको सहयोग पनि गाउँपालिकामा स्टोर गरेर राखिएको छ । 

    लेकाली भेगमा मंसिर अन्तिमदेखि नै हिउँ र तुषारो पर्न थाल्छ । पुस महिना पूरै जाडोले कठ्यांग्रिएर बिताएका लिदीवासीलाई रुघाखोकीले सताएको छ । 

    मित्रराष्ट्र चीनले सभामुख अग्निप्रसाद सापकोटामार्फत ३ पुसमा बाढीपहिरोपीडितका लागि टेन्ट र ओढ्ने कपडा दिएको थियो । चीनले दिएको सहयोग बर्खामा प्राकृतिक विपत्तिले सताएको चार स्थानीय तह भोटेकोसी, बाह्रबिसे, जुगल र चौतारा साँगाचोकगढीलाई प्रदान गरिएको थियो । 

    जुगल गाउँपालिकालाई ८० थान बाक्लो टेन्ट र ७० थान ओढ्ने न्यानो कपडा पठाइएको थियो ।

    टेन्ट बाक्लो र विशेष खालको भएकोले पुस–माघको तुषारोमा पनि बस्न सहज हुन्छ । जाडोले थर्थरी कामेर पीडित स्थानीय बिरामी पर्दासमेत टेन्ट र ओढ्ने आजसम्म बाँसखर्क पुगेको छैन । 

    ‘जाडोले बिरामी पर्दा कसैले हेरेनन्,’ पीडित साहिला दोङले भने । चीन सरकारले दिएको सहयोग नपाएको उनले सुनाए । 

    जिल्ला प्रशासन कार्यालयले ६ महिनाअघि दिएको पुरानो टेन्टमा पीडितको दिनरात जाग्राम बसेर बितिरहेको छ । पुरानो चिनियाँ टेन्ट भूकम्पको वेला प्राप्त भएका थिए । 

    गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ ओली नेकपाको केन्द्रीय सदस्यसमेत हुन् । पार्टी विभाजनपछि राजनीतिक कार्यक्रममा व्यस्त हुने गरेकोले उक्त सहयोग पीडितसम्म नपुगेको स्थानीय बताउँछन् । 

    अन्य तीन स्थानीय तहले अत्यावश्यक पीडितलाई वितरण गरेर बाँकी सामग्री आपतकालीन समयका लागि भन्दै स्टोर गरिएको जनाएका छन् । 

    पालिका अध्यक्षलाई कुरा गर्दा जवाफ दिन मानेनन् । 

    नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस