मंसिर २५, २०७७
चौतारा । मेलम्चीको पानी चार महिनाभित्र सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारिने भएको छ। सुरूङमा रहेका त्रुटि सच्याइरहेको खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताएका छन्।
गत असार महिनामा सुरूङ परीक्षण गर्ने क्रममा दुर्घटना भएको थियो। ‘विदेशबाट प्राविधिक टोली आउँदैछन्, परीक्षणलगायत सबै काम सकेर चार महिनाभित्र सुन्दरीजलमा पानी झर्छ’ पन्तले भने।
प्राविधिक टोली आइसकेपछि पुनः परीक्षण गर्न दुई महिना समय लाग्ने छ। टोलीले प्रतिवेदन बुझाइ सकेपछि मात्रै पानी झारिने बताए।
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले सुन्दरीजलमा पानी झारे लगत्तै उपत्यकाका घर-घरमा पानी वितरण गरिने बताए। अहिले पानी प्रवाह गर्ने मुख्य लाइनको काम भइरहेको जनाए ।
मुख्य प्रसारण लाइनअन्तर्गत १४ सयदेखि ६ सय एमएमका ७७ किलोमिटरमा काम सकिसकेको छ। ‘यो सुन्दरीजलबाट उपत्यकाको पानी ट्यांकीसम्म पुर्याउने मुख्य पाइप हो,’ उनले भने, ‘चक्रपथमा १० वटा पानी ट्यांकी बनाउनुपर्नेमा ९ वटा सकिसकेको छ।’
निर्देशनालयले ट्यांकीबाट पानी घरघरमा पुर्याउन एक हजार १० किलोमिटर पाइप विस्तार गर्नुपर्नेछ। अहिलेसम्म ९ सय ९० किलोमिटर पाइप बिछ्याउने काम सकिएको र धारा जडानको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
तत्कालका लागि नयाँ पाइप लाइन र सुन्दरीजलबाट वितरण गरिरहेको पुरानै वितरण प्रणालीबाट मेलम्चीको पानी वितरण गरिने जानकारी दिँदै उनले भने, ‘हामीले साना क्षेत्रमा बिछ्याएका पाइप परीक्षण गरिसकेका छौँ, अब ठूला पाइपमा परिक्षण गर्न बाँकी छ, यसको पनि दुई महिनाभित्र त्यो पनि गरिसक्छौँ।’
लामो समयपश्चात् गत असारमा पहिलो मेलम्ची खानेपानी आयोजनाको परीक्षण भएको थियो। त्यस क्रममा रहेको सुरूङको गेट फुट्दा इञ्जिनियर सतिश गोइत र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए।
इञ्जिनियर गोइतको शव भोलिपल्ट फेला परेको थियो भने चालक थापामगर अझै बेपत्ता छन्। परामर्शदाता दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस