मंसिर २५, २०७७
चौतारा । भक्तपुरबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र नक्कली नागरिकता सहित एक जना पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मध्यपुर ठिमी नगरपालिका ६ ठिमीबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १२ घर भइ मध्यपुर ठिमी ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।
महाशाखाको पीडित सहायता इकाईमा आएको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। हरीले उनले चलाउँदै आएको बा १५ च ४६८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ ।
उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी ४ थान,सवारी चालक अनुमति पत्र २ थान ,सवारी चालक अनुमति पत्रको कर तिरेको रसिद एक थान, सवारी चालक विवरणको कागज ५ थान – ५, विभिन्न बैंकको २५ लाख रुपैया बराबरको चेक ४ थान,मोवाइल ३ थान र नगद एकचालिस हजार पाँच सय समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए।
थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि आशिषलाई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याईएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस