मंसिर २२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन आफूले अध्यक्ष पद त्याग्न तयार रहेको बताएका छन्।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा बोल्दै दाहालले अहिलेको अवस्थामा अध्यक्ष र प्रधानमन्त्रीभन्दा पदभन्दा ठूलो गणतन्त्रको रक्षा र पार्टी एकता बचाउने काम भएकाले आफ्ना लागि पद गौण कुरा भएको बताए।
अध्यक्ष दाहालले गणतन्त्रको रक्षा र पार्टी एकता जोगाउन सबै नेताले सकेसम्म त्याग गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफू अध्यक्ष पद त्यागेर नेतृत्व दोस्रो पुस्तामा दिन तयार रहेको पनि उल्लेख गरेका छन्।
यसअघि गत १३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व दिन तयार रहेको बताउँदै प्रचण्ड तयार भए नभएकोबारे प्रश्न उठाएका थिए।
आइतवार धुम्बाराहीमा ओलीको प्रश्नको जवाफमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै समस्या नभएको जिकिर गरे। करिब डेढ घण्टा लामो सम्बोधनका क्रममा पार्टी एकता बचाइ राख्ने दिशातर्फ नै सबैजना लाग्नुपर्नेमा जोड दिए। अहिलेको प्रमुख कुरा गणतन्त्र र पार्टी एकताको रक्षा गरिरहनु मुख्य दायित्व भएको पनि उनले चर्चा गरे।
‘पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता जोगाइ राख्नु हो । आवश्यक भएमा जोसुकैले त्याग गर्न सक्नुपर्छ। म त्यसका लागि अध्यक्ष पद त्याग्न पनि तयार छु’, उनले भने, ‘हामी नेतृत्वमा रहेकाले त्याग गर्न तयार भएर दोस्रो पु्स्तालाई ल्याउनुपर्ने कुरामा कसैले शंका नगरे हुन्छ।
प्रतिक्रिया दिनुहोस