मंसिर १९, २०७७
चौतारा । विनाशकारी भूकम्पले शतप्रतिशत ध्वस्त बनाएको सिन्धुपाल्चोकको विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) ले भौतिक निर्माणको काम ९८ प्रतिशतमा पुगेको जनाएको छ ।
भूकम्पमा परी जिल्लाभरका पाँच सय तीन विद्यालयमा क्षति पुगेको थियो । एकाइले अघिल्लो दुई आर्थिक वर्षमा दुई सय छ विद्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै जिल्लाभर दुई सय दश विद्यालय भवन गैह्र सरकारी संस्थाहरुले निर्माण सम्पन्न गरेका जनाएको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा निर्माण सम्पन्न हुनुपर्ने ४२ विद्यालय लगडाउन र ढिला अक्तियारीका कारण निर्माणकै क्रममा छन । भारतीय दूतावासले निर्माण सुरु भएका नौ र चिनीया दूतावासले निर्माण गर्ने एक विद्यालय भवन निर्माणको क्रममा रहेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख यम खड्काले जानकारी दिए ।
निर्माणको क्रममा रहेका विद्यालय भवनको प्रगति नब्बे प्रतिशत माथि रहेको उनको भनाई छ।
कार्यालयका अनुसार बिद्यालय भवन निर्माणको लागि चिनीया दूतावासद्धारा निर्माण गरिने दुई सहित उपयूक्त जग्गा अभावका कारण जिल्लाभरका चार बिद्यालय भवन निर्माण सुरुवातको प्रारम्भिक चरणमा छन् ।
जिल्लाभर तीन हजार ३९१ कक्षाकोठा तयार भई पठनपाठन सुरु भइसकेको जिल्ला कार्यान्वयन एकाइका ईन्जिनियर अनिलकुमार यादवले बताए। ५९२ कक्षाकोठा तत्काल निर्माण सम्पन्न हुने अवस्थामा पुगेको उनले बताए।
निर्माण सम्पन्न भएका विद्यालयमा खानेपानी, शौचालय, आवश्यक डेक्स वेन्च सहित भौतिक सामाग्रीको उपलब्धता छ । ‘उपयूक्त जग्गाको अभाव र दक्ष कामदारको परिपूर्ति नहुँदा विद्यालय निर्माण केही समस्या देखिएको हो । निर्माण सामाग्रीको पर्याप्तता र ग्रामीण सडकमा ढुवानी पनि विद्यालय निर्माणको क्रममा देखिएका समस्याहरु हुन्’ उनले भने।
र, यो पनि :
स्वास्थ्य मापदण्डको पालना गर्दै खुल्न थाले जिल्लाका अधिकांश विद्यालय
प्रतिक्रिया दिनुहोस