मंसिर ११, २०७७
चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोकको जनप्रतिनिधिसँग छलफल गरेका छन्। विपद् पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिको बारेमा सभामुखले सिन्धुपाल्चोकका जनप्रतिनिधिसँग छलफल गरेका हुन्।
स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्श समेत लिएका छन्।
सिन्धुपाल्चोकमा २०७७ साल असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, ३० साउनको लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भइ बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अबस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था र विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।
विपद् पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा सभामुख सापकोटाले चासो राखेका छन्। सिन्धुपाल्चोकमा पछिल्ला बर्षहरुमा बाढी पहिरोले ठुलो जनधनको क्षती गरेको छ। बाढीपहिरो विस्थापितहरुको अझै व्यवस्थापन हुन सकेको छैन।
सरकारले सिन्धुपाल्चोकको विपद् न्यूनिकरणका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस