मंसिर ८, २०७७
चौतारा । सरकारले एकै दिन ३९४ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने भएको छ। मङ्सिर १५ गते देशभरका ३९४ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्न लागिएको हो। जसमध्ये सिन्धुपाल्चोकको ५ स्थानीय तह परेका छन्।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ श्ययाका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको हो।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा १५ शैया, जुगल गाउँपालिकामा १०, बलेफिमा १५, लिसंखुपाखरमा ५ र हेलम्बु गाउँपालिकामा १० शैयाको अस्पतालको शिलान्यास हुन लागेको हो।
मङ्सिर २ गते बसेको अर्थ र स्वास्थ्यमन्त्रीबीचको बैठकले एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय गरेका थिए। अर्थ मन्त्रालयले अस्पताल निर्माणका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ।
अस्पताल निर्माण हुन लागेका स्थानीय तहलाई आवश्यक व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिइसकेको छ।
ती अस्पताल निर्माणका लागि ५७ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ । ५, १० र १५ शय्याका अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रियामार्फत अगाडि बढाइएको हो।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ। सोही आधारमा अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो।
प्रतिक्रिया दिनुहोस