कात्तिक २०, २०७७
चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकामा दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। युवाहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्नका लागि नगरपालिकाले दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो।
ऋण उपलब्ध गराउनका लागि नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भइसकेको उपप्रमुख जानुका पराजुलीले बताइन्। नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरी यस वर्ष २ करोड ऋण प्रवाह गरिने उनले बताइन्।
ऋण लिन चाहने नगरबासीहरुले २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्ने उनले बताइन्।
नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, बिदेशबाट फर्किएका, कृषि तथा लघु उद्ययमको क्षेत्रमा स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यबिधी २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।
स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरबासीको आकांक्षा पूरा गर्न गर्ने उद्देश्यले नगरपालिकले सरल कर्जा कार्याक्रम अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस