कात्तिक १४, २०७७
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको दुरी बढेको छ। पार्टीभित्रको निर्णय कार्यान्वयन गराउन नसक्दा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुरी बढेको हो।
कर्णाली विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले बेग्लाबेग्लै पत्र काटेपछि ओली दाहाल बीचको भेटवार्तामा समेत ब्रेक लागेको हो। त्यसो त त्यसअघि पनि राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायतको बिषयमा अध्यक्ष दाहाल रुष्ट बनिरहेको थिए।
प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएपछि कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता भएको छैन।
दिनहुँ धाउँछन् ओली निकट नेता
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्नका लागि ओलीले आफू निकटका नेताहरुलाई दिनहुँ पठाउने गरेको छन्।
शुक्रबार प्रधानमन्त्री ओली निकटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पठाएका छन्। यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
पार्टीभित्रको लामो संघर्षपछिको भदौ २६ को स्थायी कमिटीको निर्णयपछि राजदूत नियुक्ति, कर्णाली विवाद, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख सँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जानाइरहेका छन्।
प्रचण्डको एउटै जवाफ
प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई छलफलका लागि आग्रह गरेको भएपछि अध्यक्ष दाहालले एउटै जवाफ फर्काउने गरेका छन्।
‘पार्टीभित्र जतिपनि निर्णय गरेपनि कार्यान्वयन हुदैन। जति पटक भेटवार्ता गरेपनि एकलौटी निर्णय गर्ने भएपछि भेटवार्ता गर्नुको अर्थ नभएको अध्यक्ष दाहालले जवाफ दिएका छन्’ स्रोतले भन्यो, ‘भदौ २६ गतेको स्थायी कमिटी निर्णयले पार्टीभित्रको विवाद समाधान गरेर सहमतिमा अघि बढ्ने निर्णय गरेको थियो। तर, उहाँले निर्णय गरेलगत्तै एकलौटी चल्न थाल्नुहुन्छ। त्यसैले भेटवार्ता गरेर मात्रै हुदैन।’
कन्ट्रयाक ट्रेसिङको असर
यता, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ अध्यक्ष दाहाल स्थायी कमिटी सदस्य जनार्दन शर्माको कन्ट्रयाक ट्रेसिङमा परेको कारणले भेटवार्ता रोकिएको तर्क गर्छन्।
‘उहाँ जनादर्नजीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ। त्यसैले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न बालुवाटार नआउनुभएको हो’ उनले भने, ‘आइसोलेसनमा बसेको बेलामा भेटवार्ताका लागि हिंड्ने कुरा भएन नी।’
‘उहाँ बालुवाटार नआएपछि मलाई बुधबार खुमलटार बोलाउनुभएको थियो। म गएर उहाँसँग समसामयिक बिषयमा छलफल गरेँ। उहाँ (प्रचण्ड) आफू कन्ट्रयाक ट्रेसिङमा परेको कारणले तत्काल बालुवाटार आउन नसक्ने बताउनुभयो’ उनले भने।
प्रतिक्रिया दिनुहोस