कात्तिक १४, २०७७
एजेन्सी : विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनको छिमेकी देश ताइवानमा यसको असर फैलन दिइएको छैन ।
विज्ञहरु ताइवानलाई कोभिड १९ को महामारी नियन्त्रणका हिसावले सफल देश समेत मान्न थालेका छन् । २ करोड ३० लाख जनसंख्या रहेको ताइवानमा हालसम्म ५ सय ५० जना मात्रै संक्रमित देखिएका छन् । जसमध्ये जम्मा ७ जनाको मृत्यु भएको छ । त्यो पनि यहाँ झण्डै ७ महिनायता अर्थात २ सय दिनदेखि नयाँ संक्रमित थपिएका छैनन् ।
सरकारी अधिकारीहरुका अनुसार ताइवानमा पछिल्लो पटक गत अप्रिलको १२ तारिखमा संक्रमित भेटिएका थिए । त्यसयता नयाँ संक्रमित थपिएका छैनन् ।
यीनै आधारमा अष्ट्रेलियाको नेश्नल युनिभर्सिटी अफ मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको सफल व्यवस्थापन गर्नसक्ने देशको सूचीमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको बताए । यसवाहेक २०२० सुरु भएपछि महामारीका बीच आर्थिक सुधार गर्ने थोरै देशमा ताइवान पनि एक भएको बताइएको छ ।
ताइवानले महामारी नियन्त्रणका लागि मानिसको आवतजावत र भीड रोक्न सिमानामा कडाइ लगायत अन्य कडा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कोरोना महामारी फैलिन नपाएको बताइन्छ । ताइवानले संक्रमण फैलिन थालेपछि नै सीमा नाकामा पनि कडाइ गर्नुका साथै उच्च सतर्कता अपनाएको हो ।
प्रतिक्रिया दिनुहोस