असोज ३०, २०७७
चौताराः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सिन्धुपाल्चोकले कोरोना समुदाय स्तरमा फैलिसकेको बताएको छ। जिल्ला अध्यक्ष झम्क नेपाल र सचिव दावा तामाङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोना समुदायस्तरमा फैलिसकेकाले चाडपर्वमा जमघन नगर्न आग्रह गरेका हुन्।
‘कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रूपमा बढिरहेको छ। कोभिडको कारणले मानव गुमाउने पहिलो जिल्ला रहेको सिन्धुपाल्चोकमा हाल यसको संक्रमण समुदायस्तरमै फैलिसकेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘जसले गर्दा कोभिड साझा समस्या तथा चुनौतिको रूपमा देखिएकोले यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि कुनै निश्चित निकायले मात्र भन्दा पनि सबैको साझा प्रयत्नको आवश्यकता बढेर गएको छ । यसमा आफ्नो र समाजको सुरक्षाको लागि प्रत्येक व्यक्ति थप जिम्मेवार हुन जरुरी छ।’
सुरुवाती दिनदेखि हालसम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिने सम्पूर्ण निकाय र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सबै तहका जनप्रतिनिधि एवम् राजनीतिकर्मीहरु, उद्योग व्यवसायी, नागरिक समाज, सञ्चारकर्मीलगायत सम्पूर्णमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।
सिङ्गो पार्टीपंक्ति, संगठनहरूलगायत सम्पूर्णलाई अझ उत्साहका साथ स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाउँदै यसको संक्रमण रोक्नको लागि थप स्वयम्सेवी भूमिका बढाउन आग्रह समेत गरेको छ।
‘हामी नेपालीहरूले महत्वका साथ मनाउने पर्व दशैंको मुखैमा छ । कोरोना कहरका कारण विगतमा जस्तो सार्वजनिक जमघट गर्न सम्भव छैन’, विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले दशैंलगायत विभिन्न पर्वहरूको अवसरमा विगत वर्षहरूमा गरिँदै आएको शुभकामना आदान प्रदान तथा चियापान, खेलकुद, सांस्कृतिकलगायतका सबै प्रकारका औपचारिक कार्यक्रमहरू गर्न मिल्ने अवस्था छैन।’
‘नेकपा सिन्धुपाल्चोकको पार्टीका सबै तहबाट कुनै पार्टीको कार्यक्रम नगर्ने समेत जनाएको छ। नेकपा, सिन्धुपाल्चोक विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत् र ल्होछारलगायतका सम्पूर्ण चाडपर्वहरूको सन्दर्भमा सबै जनामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वास्थ्य महामारी र प्राकृतिक विपद्हरूको सामनाका निम्ति सबैमा उच्च मनोबलको कामना गर्दछौं’, विज्ञप्तीमा भनिएको छ, ‘जहाँ रहेका छौँ, त्यहीँ रही मनाऔं । आफू, परिवार र समाजलाई सुरक्षित राखौं।’
प्रतिक्रिया दिनुहोस