असोज २०, २०७७
चौताराः नेपालमा कोरोना भाइरसका थप एक हजार ५५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस