असोज १८, २०७७
चौताराः पछिल्लो समयमा बृहत् बहसको रुपमा स्थापित हुँदै आएको गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बहस स्थानीय तहसम्म आइपुगेको छ।
नेपालको संघीय संसद र प्रदेश सभामा गाँजासम्बन्धी विधेयकसमेत दर्ता भइसकेको छ। संघीय संसदमा गाँजासम्बन्धी लामो समयदेखि बहस गर्दै आएका मकवानपुर सांसद विरोध खतिवडा र पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको अग्रसरतामा दर्ता भएको हो।
यस्तै प्रदेश सभामा गाँजा विधेयक बागमती प्रदेशका पूर्व भौतिक मन्त्री केशव स्थापितले दर्ता गरेका हुन्। संघ प्रदेशमा दुवैतर्फ निजी विधेयक दर्ता भएको हो।
शनिबार नेपाल पानी सदुपयोग फाउन्डेसनको आयोजना तथा राक्सिराङ गाउँपालिका र नेपाल कानुन तथा नीति केन्द्र समन्वयमा गाँजासम्बन्धी भर्चुअल छलफल भएको छ। भर्चुअल छलफलमा जनप्रतिनिधिहरुले गाँजा खेतीलाई निश्चित मापदण्ड र सरकारी नियमका आधारमा कानुनी मान्यता दिनुपर्ने बताएका छन्।
पूर्वकानुनमन्त्री तामाङले गाँजा खेती गरी मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने र बिदेसिन बाध्य युवालाई स्वदेश फर्काउन सकिने बताए। ‘विश्वका धेरै देशमा गाँजामाथिको प्रतिबन्ध हटे पनि तथा हाम्रोजस्तो विपन्न मुलुकले गाँजाखेतीबाट धेरै फाइदा उठाउन सक्छ’तामाङले भने।
गाँजाबाट हुने विकृतिलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड दिन सके किसानलाई समेत फाइदा पुग्ने तामाङले जिकिर गर्छन्।
प्रतिक्रिया दिनुहोस