असोज १५, २०७७
चौताराः लेकाली जंगलबीच लस्करै नीला टेन्ट । चिसो भुइँमा ओछ्याइएका दुईवटा पाल । टेन्टभित्र एक बोरा चामल र केही भाँडाकुँडा । जुगल गाउँपालिका–१ बासखर्कमा सरेका लिदीका विस्थापित परिवारको बसाइ अवस्था हो यो ।
झरी पर्दा टेन्टभित्रको ओछ्यानमा पानी चुहिन थालेपछि दिक्क भएका जुगल–२ लिदीका ५७ वर्षीय रेशम दोङ अरूसँगै पानीमै भिज्दै बाहिर निक्लिएर बासखर्कको जंगल हेर्न थाले । बिहीबार बिहानै हिँडेर सेलाङ गाउँमा गएर गुहार माग्दै राहतको खाना पकाएर खाएपछि साथीसँगै टेन्टभित्र छिरेका दोङ बाहिर निक्लिएपछि एकाएक निराश देखिए ।
‘कहिले सकिएला सर हाम्रो दुःख ?, भूकम्पपछि त दौडिएका दौडिएछौं । कति ठाउँ कहिलेसम्म भौंतारिने । बिरालोले बच्चा सारेभन्दा चर्को भइसक्यो, दिक्क लागिसक्यो,’ उनले भने, ‘आकाशको पानी सिधै ओछ्यानमा आइपुग्छ । यहाँ यसरी नै दुई महिना बस्नुपर्ने रे, कसरी कटाउने हो खै ?’
जिल्ला समन्वय समितिको संयोजकत्वमा बनेको विपद् विस्थापित स्थानान्तरण समिति, स्थानीय जनप्रतिनिधिको सहकार्य र विभिन्न संस्थाको सहयोगमा ९८ वटा टेन्ट हालिएको छ । भूकम्पपछि जनप्रतिनिधिद्वारा गरिएको अस्थायी आपत्कालीन स्थानान्तरणमा आएका ४२ परिवारलाई वनक्षेत्रमा बस्न नमिल्ने भन्दै फर्काइएको थियो । ती परिवार आजित भएर लिदी गाउँकै पहिरोमुनि फर्किएका थिए ।
एक सय ७२ परिवारका केही घरमूलीसँगै बासखर्क आएका लिदीका ४५ वर्षीय साङ्बो दोङ रेशमसँगै जंगलतर्फ हेरेर टोलाइरहेका थिए । बासखर्क आउनेबित्तिकै लिदी पहिरोमा गुमाएका श्रीमती र छोराको यादले सताएपछि साङ्बोलाई रातदिन मनमा केही गाँठो परेजस्तै लाग्छ ।
‘त्यतिखेर सुरक्षित आश्रयको खोजीमा परिवारसहित आएको थिएँ, बस्न नदिएपछि गाउँमै फर्कियौं । पहिरोमा श्रीमती र छोरा गुमाए, अब कति दिन यहाँ बसेर फेरि लिदी फर्कनुपर्ने हो कि,’ उनले भने । टेन्ट र पालले वर्षात् नछेक्दा सास्ती भोगिरहेका उनले चाँडै सुरक्षित बासको व्यवस्था गर्न माग गरे ।
भूकम्पको अनुदान ३ लाखमाथि ऋण लिएर पहिरो छल्दै लिदीवासीले छेउछाउमा घर बनाए । तर, आफ्नो घरमा पनि आनन्दसँग बस्न कहिल्यै पाएनन् । पहिरोले माथिबाट सोहोर्दै ल्याएपछि डरले घरबाट पर लप्सेडाँडाको गोठमा बस्न थाले । बिहानमात्रै घर फर्किने गरेका थिए । गत साउन ३० गते पहिरोले एकै पटक छोप्दा १७ परिवारका ३९ जना बेपत्तामध्ये ३३ ले ज्यान गुमाए । ६ जना अझै भेटिएका छैनन् ।
बुधबार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासहित जनप्रतिनिधिले सुरक्षित बासको व्यवस्था गर्ने प्रतिबद्धता गरेपछि विस्थापित केही आशावादी बनेका छन् । ‘सभामुखले भनेपछि त केही होला नि त यो देशमा । त्यही आसमा छौं,’ साङबहादुरले भने ।
गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार बासखर्कमा हालका लागि आपत्कालीन अस्थायी स्थानान्तरण मात्रै गरिएको हो । उनका अनुसार दीर्घकालीन कार्ययोजना बनाएर नमुना एकीकृत बस्ती कहाँ कसरी बनाउने भन्नेबारे खाका कोरिँदै छ ।
सभामुख सापकोटाले लिदीका विस्थापित परिवारका लागि मोडेल एकीकृत बस्ती बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार काठमाडौंको उच्चस्तरीय छलफलमा विस्थापित परिवारका लागि एकीकृत बस्ती बनाउने अभियानकै रूपमा अगाडि बढाइने उनले उल्लेख गरे । ‘प्रधानमन्त्रीज्यूलाई लिदीपीडितको समस्याबारे बताएर सुरक्षित बासका लागि एकदमै कस्सिरहेका छौं,’ उनले भने । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस