असोज १४, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लाको अधिकांश खोलाकिनारामा देखिने पानीघट्ट अहिले देखिनै मुस्कील पर्ने भएको छ । प्रविधिको विकास भएसँगै पानीघट्ट संकटमा परेका हो । आधुनिक मेशिनहरुको लोकप्रियतासँगै पानीघट्टहरु संकटमा परेको हो । पछिल्लो समयमा आधुनीक प्रविधियुक्त मेसीघट्ट आएपछि पानीघट्ट संकटमा परेको छ ।
कुनैबेला बगरैभरि घट्टै–घट्टहरु देखिने गरेको थियो । आधुनिक मेशिनको वढ्दो प्रयोगले पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । जलवीरे नदी किनारामा २० भन्दा वढि ठाउँमा रहेका घट्टहरु अहिले मुस्किलले ४ ठाउँमा मात्र छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका २ बतासे गाउँकी ६० वर्षिय मैना माझि पुराना दिनहरु यसरी सम्झदै थिइन् । सोह्र वर्षको उमेरदेखि जलवीरेमा घट्ट व्यवसाय संचालन गर्दै आएकी उनी नदी किनारामा घट्ट लोप भएकाले समस्यामा छिन् । नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझि तथा दनुवारहरुको पुख्र्यौली पेशा हो ।
कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित त भएनन् नै भावी पुस्ताका लागि पनि एकादेशका कथा जस्तो भएपछि उनी जस्ता सयौं व्यक्तिहरु यतिखेर समस्यामा परेका छन् । अहिले संचालनमा रहेका घट्टहरुबाट वार्षीक एक लाख जती कमाई हुने मैनाको भनाई छ ।
पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यीनै घट्टहरु प्रयोगमा आउँथें । करिव एक दशक अगाडिदेखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको जलवीरेका घट्ट व्यवसायी शंकर माझिको भनाई छ ।
पिसानीका लागि केहि समय वढी लागे पनि पानीबाट संचालन गरिने भएकाले पेट्रोलियम पद्धार्थको बचाउ गर्न र सहुलियतका लागि पनि पानीघट्ट भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उनी पनि चिन्तित् देखिएका छन् । संरक्षण गर्न सके आफ्नो पेशाको जगेर्ना हुन सक्ने झिनो आशा बोकेका उनी आफूहरुका कुनै पनि व्यवसायहरुको अस्तित्व हराउन थालेको गुनासो गर्छन् ।
परम्परागत पेशाबाट जीविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो कुनैपनि जमिन नभएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरि विदेश लागेका छन् भने केहि रोजगारीका लागि राजधानी लगायतका शहरहरुमा पुगेका छन् ।
पुराना सबै खाले व्यवसायहरु विस्थापित हुने निश्चित भएपछि करिव १ हजार ५ सय भन्दा वढी माझि तथा दनुवारहरुको रोजगारी गुमेको स्थानियहरुको भनाई छ । घट्नी निर्माणको लागि पहिलेजजस्ता ढुङ्गाहरु पनि नपाइने भएकाले माझि समुदाय समस्यामा परेका छन् ।
पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्छ । तर, अहिले आधुनीक मेसिन औजारहरु आएपछि पानी घट्ट देखिनै छाडेको छ । पानी घट्टमा कुटानी पिसानी गरेको मकै, कोदो, गहुँ लगाएको खाद्य बस्तुको स्वाद नै पोसिलो हुने गरेका छ ।
प्रतिक्रिया दिनुहोस