असोज १३, २०७७
चौताराः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले सिन्धुपाल्चोकमा निरन्तर रुपमा भइरहेको प्राकृत्तिक विपत्ति न्यूनिकरणको बिषयमा छलफल थालेको छ। सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेसँगै बस्ती स्थानान्तरणमा नेकपाले सक्रियता देखिएको हो।
सिन्धुपाल्चोक प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजीकरण कार्यदल नै बनाएर नेकपाले कामको थालनी गरेको नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले जानकारी दिए।
‘सिन्धुपाल्चोकको विपद् न्यूनिकरणका लागि यहि असोज १० गते जिल्लामै र असोज १२ गते वाग्मती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा परामर्श गोष्ठीमा यी बिषयमा छलफल भइसकेका छन्’ उनले भने।
‘दुवै बैठकमा मैले नै कार्यदलको संयोजकको भूमिकाबाट कार्यपत्र प्रस्तुत गरेका थिए। सिन्धुपाल्चोकबासी हामीले लगातार भोगी रहेका विपद्का घटना, यसमा भएको मानवीय तथा भौतिक क्षति, जोखिम बस्ती स्थानान्तरणका लागि स्थानीय तहसहितबाट संकलन गरेको विवरणलगायतका विषयमा केन्द्रीत भयो’ उनले भने।
‘बैठकको निर्णयअनुसार बस्ती स्थानान्तरणको काम तत्कालै सुरु हुने उनले बताए। निरन्तर विपद् भइरहेको छ। अब हामीले तत्काल न्यूनिकरण तथा स्थानान्तारणको काम थाल्छौँ। अब सिन्धुवासी नागरिकहरुले सुरक्षित महसुस गर्न सक्नुहुनेछ’, उनले भने, ‘विपद व्यवस्थापनमा सिन्धुपाल्चोक नमूना बन्छ।’
प्रतिक्रिया दिनुहोस